
काठमाडौं । निर्वाचन आयोगले यहि फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि साेमबार राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि कायम रहने जनाएको छ ।
आयाेगले साेमबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै यस्ताे बताएकाे हाे । फागुन २२ गते मध्यरातदेखि फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने आयाेगले जनाएको हो ।
निर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरेकाे छ ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने निर्वाचन आचारसंहिता, २०७९ मा व्यवस्था गरिएको छ ।
निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न पाइँदैन ।
साथै उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट समेत मत माग्न निषेध गरिएको छ ।
निर्वाचन आयोगले जारी गरेकाे प्रेस विज्ञप्तिमा यस्ताे भनिएकाे छ:

प्रतिक्रिया दिनुहोस्