९ बैशाख २०८२, मंगलबार | Wed Apr 23 2025


राष्ट्रपति निर्वाचनका विषयमा एमालेले सांसदलाई दियो प्रशिक्षण


195
Shares

काठमाडौं । नेकपा एमालेले राष्ट्रपति पदको निर्वाचनका विषयमा आफ्ना सांसदलाई प्रशिक्षण दिएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा एमालेले सोमबार तीन दिनपछिको राष्ट्रपतिको निर्वाचनको लागि आफ्नो पार्टीका प्रतिनिधिसभा, राष्ट्रियसभा तथा प्रदेशसभा सांसदहरूलाई प्रशिक्षण दिएको हो ।

राष्ट्रपति निर्वाचनको लागि मौन अवधि सुरु हुनु केही घण्टा अघि एमालेले आफ्ना संघीय र प्रदेश सांसदलाई राष्ट्रपति निर्वाचनबारे प्रशिक्षण दिएको हो ।

प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित, राष्ट्रपतिका उम्मेदवार नेम्वाङ, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव गोकर्ण विष्ट, टोपबहादुर रायमाझीलगायतका नेता सहभागी रहनुभएको थियो ।

कार्यक्रममा अध्यक्ष ओलीले आत्मसम्मानकासाथ चुनावीप्रक्रियामा सहभागी हुन मतदातालाई आग्रह गर्नुभयो । आठ दलीय गठबन्धनले भने गत बिहीबार र शुक्रबार सांसदहरुलाई प्रशिक्षण दिएको थियो । तर, निर्वाचन आचारसंहिताको कारण २४ गते गर्ने भनिएको संघीय र प्रदेश सांसदहरुको संयुक्त प्रशिक्षण कार्यक्रमलाई भने गठबन्धनले स्थगित गरेको थियो ।

राष्ट्रपतिको निर्वाचनमा संघीय र प्रादेशिक सांसद मतदाता रहनेछन् । २५ फागुनमा राष्ट्रपति पदको निर्वाचन हुँदै छ । एमालेले पार्टीको तर्फबाट पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ ।

नेम्वाङको प्रतिस्पर्धा आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग हुँदै छ ।