
काभ्रे । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रिय अध्यक्ष भिमज्वाला राईले यातायात मजदुरको आन्दोलन नरोकिएको स्पष्ट पार्नुभएको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धुलिखेल रुट इकाई समितिको १६ औं अधिवेशन तथा यातायात मजदुर कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।
यातायात मजदुरको आन्दोलन तत्कालका लागि स्थगित मात्रै भएको भन्दै उहाँले आन्दोलन नरोकिएको स्पष्ट पार्नुभएको छ ।
माग सम्बोधन नभए सवारीसाधनको चाबी सरकारलाई वुझाएर यातायात ठप्प पार्ने उहाँको चेतावनी छ । गैरकानूनी ढंगले चालकको लाइसेन्स लिम्बन गर्ने, एक दिनमै ३/३ पटक १५ सयका दरले जरिवाना असुली गर्ने कार्य स्विकार्य नहुने अध्यक्ष राइले बताउनुभयो ।
उहाँले यातायात मजदुरको आन्दोलन कमजोर पार्नका लागि षड्यन्त्र भएको समेत बताउनुभएको छ । चोरी तथा लुटपाटको घटनामा यातायात मजदुरको संलग्नता पुष्टि गर्न उहाँको चुनौति छ । दिनरात नभनी काम गरिरहेका यातायात क्षेत्रका मजदुरलाई राज्यले दोस्रो दर्जाका नागरिकको रुपमा हेरेको उहाँको गुनासो छ ।
श्रमिकलाई सम्मान गर्नुको सट्टा राज्यले बदनाम गरिरहेको अध्यक्ष राईले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्