
काभ्रे । काभ्रेकाे साँगा–धुलिखेल सडकखण्डकाे निर्माण कार्य सुरु भएको छ ।
यहि फागुन १२ गतेबाट वाल निर्माणको कार्य सुरु भएको हो । साँगादेखि धुलिखेलसम्मको सडकखण्डमा फागुन २५ गतेभित्र सडक निर्माण गर्ने गरी इस्टमेट तयार गरिएको आयोजना प्रमुख राजेन्द्र दासले जानकारी दिनुभयो । जसका लागि सडक क्षेत्रमा पर्ने २ सय ५६ वटा रुख कटान गर्नुपर्ने भएकाे छ । मापदण्डभित्र पर्ने ६ वटा घर समेत भत्काउनुपर्ने भएकाे छ ।

त्यस्तै ९ वटा धारा, एउटा ढुंगे धारा, पानी ट्यांकी २ वटा, ५ वटा मन्दिर, पेट्रोल पम्प, विद्युत पोल र खानेपानीका संरचना समेत हटाउनुपर्ने आयोजना प्रमुख दासले जानकारी दिनुभयो । उक्त आयोजना निर्माणको जिम्मा लामा कन्स्ट्रक्सन प्रालिले पाएको छ ।

३ वर्षभित्र काभ्रे साँगा–धुलिखेल सडकखण्डकाे निर्माण कार्य सम्पन्न गर्ने गरी गत मंसिर २७ गते ठेक्का सम्झौता भएको थियाे। आयोजनाको कुल लागत ४ अर्ब ५ करोड ६४ लाख ७५ हजार रुपैयाँ रहेको छ ।

सडक निर्माण कार्य हुँदा सडककाे सीमाभित्र रहेका संरचनाहरुमा हुने क्षति न्यूनीकरणका लागि ध्यान दिन धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले आग्रह समेत गर्नुभएको छ । सडक निर्माणका लागि दैनिक १ सय १२ वटा टिपर संचालन गर्नुपर्ने भएकाले सहजीकरणका लागि लामा कन्स्ट्रक्सनले आग्रह गरेकाे छ ।
प्रतिक्रिया दिनुहोस्