१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


म्याग्दीको बगरफाँटमा युवाको अगुवाईमा खेल मैदान निर्माण


78
Shares


म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटका युवाहरुले २२ लाखको लागतमा सदरमुकाम बेनी बजार पछिको दोस्रो विशाल खेल मैदान निर्मांण गरेका छन् ।

जिल्ला सदरमुकाम बेनीबजारदेखि १५ मिनेटको दूरीमा रहेको बगरफाँट गाउँका युवाहरुले खेलकुदको माध्यमबाट गाउँलाई चिनाउने र समाजलाई संगठित बनाउने उदेश्यले याे खेलमैदानकाे निर्माण गरेका हुन् । युवाहरुकै अगुवाई र पहलमा बगरफाँटमा ५५ मिटर चौडाइ र १ सय मिटर लम्बाइको विशाल खेल मैदान निर्माण भएको छ ।

२२ लाखको लागत र श्रमदानबाट निर्माण भएको यस खेल मैदानमा आगामी चैत्र २८ गतेदेखि १ लाख रूपैयाँकाे पुरस्कार राशिको प्रथम रिभरसाइड सेभेन ए साइड फुटबल प्रतियोगिता २०७९ आयोजना गरिएको रिभरसाइड युवा क्लब बगरफाँटका अध्यक्ष सुनिल थापाले जानकारी दिनुभयो।

२०७५ सालमा सरस्वती आधारभूत विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण कार्कीको पहलमा ५ लाख, २०७६ सालमा ७ लाख र २०७७ सालमा १० लाख रूपैयाँकाे बजेट बेनी नगरपालिका र प्रदेश सरकारबाट माग गरी खेलकुद मैदान निर्माण गरिएको हो । सोही खेलकुद मैदानलाई अहिले युवाहरुले श्रमदान र देश विदेशमा रहेका व्यक्तिहरुबाट सहयोग उठाएर ५ लाख खर्च गरेर व्यवस्थित बनाएका छन् ।

चैत २८ गते संचालन हुने फुटबल प्रतियोगिताका लागि यहाँका युवाहरु १महिना अघिदेखि नै तयारीमा जुटेका छन् । फुटबल प्रतियोगितामा करिब ८ लाख खर्च हुने अनुमान गरिएको क्लबका अध्यक्ष थापाले बताउनुभयाे ।