
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिकाे निर्वाचनपछि नेपाली कांग्रेस र एमालेको सरकार बन्दैन भन्न नसकिने बताउनुभएको छ ।
राष्ट्रपतिकाे निर्वाचनमा नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा मतदान गर्न पुग्नु भएका अध्यक्ष ओलीले बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले राजनीतिमा जे पनि सम्भव हुने बताउनुभएकाे हाे । केही पनि सम्भव छैन भन्ने भनाइले सार्थकता पाउन सक्ने उहाँले बताउनुभयो ।
उहाँले आगामी राष्ट्रपतिबाट देशकोहितको रक्षा, सार्वभौम सत्ताको रक्षा, भौगोलिक अखण्डताको रक्षा, राष्ट्रियहित र स्वाभिमानको रक्षा, लोकतन्त्रको रक्षा, जनताप्रति उत्तरदायी, संविधानको पक्षमा उभिने, संविधानको पक्षमा उभिनलाई आफ्नो स्वार्थमा व्याख्या गर्ने, त्यसलाई संविधानसम्मत लोकतान्त्रिक कोणबाट व्याख्या गर्ने, देशप्रति बफादार भएर संविधानको रक्षक र पालकको हिसाबले देशको अभिभावकको भूमिका बहन गर्न सक्ने राष्ट्रपतिकाे आवश्यक रहेको बताउनुभयो ।
उहाँले यसअघिका राष्ट्रपतिको आलोचना गर्नेहरु संकिर्ण स्वार्थ बोकेकाहरुले सानो स्वार्थ पूरा भएन भनेर राष्ट्रपतिको मर्यादा नगरेको भन्दै राष्ट्रपतिय प्रणालीलाई नै मन नपराउने, जन्मिदै श्रेष्ट भनेर जस्तो भएपनि पुज्ने बानी परेका र संकिर्णताका काम गर्नेहरुले देशका लागि अडेर काम गरे भनेर बिरोध भएको उल्लेख गर्नुभयो ।
अध्यक्ष ओलीले यसअघिका दुवै राष्ट्रपतिले उल्लेखनीय काम गरेको र राष्ट्रपति विद्यादेवी भण्डारीले झनै महत्वपूर्ण रुपमा काम गरेको दावी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्