२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


पाल्पाका मन्दिर जिर्णाेद्धारको नाममा मौलिकता हराउँदै


104
Shares

पाल्पा । पाल्पाको अमर नारायण मन्दिर जिर्णाेद्धारमा निर्माण व्यबसायीले लापरवाही गरेको स्थानीयवासीले गुनासो गरेका छन् ।

धार्मिक तथा पुरातात्विक महत्वको मन्दिरको जिर्णाेद्धार गर्दा समेत सरोकारवाला निकाय तानसेन नगरपालिकाले ध्यान नदिएको उनीहरुको आरोप छ ।

वि.सं. १८६३ सालमा काजी अमरसिंह थापाले निर्माण गरेको बहुमुल्य काष्ठकलाको मन्दिर जीर्णोद्धारका लागि तानसेन नगरपालिकाले १ करोड ५ लाख छुट्याएको छ भने रत्न निर्माण सेवा काठमाडौले जिर्णाेद्धारको काम गर्दै आएको छ ।

मन्दिरका पुजारी फणिन्द्र लम्सालले पुरातत्व विभागको नीति विपरित मन्दिरको जिर्णाेद्धार गरिएको बताउनुभएको छ । करोडौं रुपैयाँमा पनि किन्न नसकिने बुहमुल्य काष्ठकला गायव पारिएको, यस्तो लापरवाही हुँदा समेत तानसेन नगरपालिका पदाधिकारीहरु आँखा चिम्लिनु दुःखद भएको उहाँको प्रतिक्रिया छ ।

मन्दिरको सबैभन्दा आर्कषक काष्ठकलाको रुपमा कुदिएका टुँडाल पहिले जस्तै गरी राखिएका छैनन् । पुराना बहुमुल्य काष्ठकलाका टुँडालहरु साना गराइएका छन् । प्यागोडा शैलीमा निर्माण भएको मन्दिरका पित्तलको छाना छोटो बनाईएको छ । बहुमुल्य काष्टकलाको रुपमा रहेका टुँडालहरुका देवी देवताको कुनै भागमा एउटा हात छ भने अर्काे भागमा चार वटा हात छन् । मन्दिरमा रहेका बुहुमुल्य झ्यालहरु अस्तव्यस्त पारिएको छ । पुरातात्विक पुनर्निर्माण गर्दा सुर्कीको प्रयोग गर्नुपर्नेमा सिमेन्टको प्रयोग भएको छ ।

नगरपालिकाले मन्दिरलाई धार्मिक पार्कको रुपमा विकास गर्ने भने पनि उचित व्यवस्थापन नहुँदा कुरुप बन्दै गएको संस्कृतिकर्मी राजेन्द्र गोपाल सिंहको आरोप छ ।

काममा देखिएका कमि कमजोर पूर्णरुपमा सुधार गरेर, स्टिमेट अनुसार काम गराएर मात्र निर्माण व्यबसायीलाई अन्तिम भुक्तानी गरिने तानसेन नगरपालिकाका इन्जिनियर शिव शर्माले जानकारी दिनुभयो ।

तानसेनभित्रका अन्य मठ मन्दिरहरु पनि पुनर्निमाण र जिर्णाेद्धारको पखाईमा रहेका छन् । तर, नगरपालिकाले बजेटको अभाव देखाउँदै आएको छ ।