
काठमाडौं । खुमलटार युथ क्लबलाई हराउँदै ललितपुरे टोली थ्री स्टार क्लबले राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ ।
ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा थ्री स्टारले खुमलटार युथ क्लवलाई २–० गोल अन्तरले पराजित गर्दै जारी लिगमा पहिलो जित निकालेको हो ।
निकै प्रतिष्पर्धात्मक बनेको खेलमा थ्री स्टारले दोस्रो हाफमा मात्र गोल निकाल्न सफल भएको थियो । थ्री स्टारको जित अजयी मार्टिन्सले नै दुई गोल गरेका हुन् ।
पहिलो हाफमा पनि थ्री स्टारले खुमलटारमाथि दबाब दिएर खेलेपनि स्कोर गर्न भने असफल भएको थियो । दोस्रो हाफमा थप आक्रामक देखिएको थ्रीस्टारका लागि ५४ औं मिनेटमा मार्टिन्सले गोल गर्दै थ्री स्टारलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ८३ औं मिनेटमा मार्टिन्सले व्यक्तिगत दोस्रो गोल गर्दै थ्री स्टारलाई २–० को जित निश्चित गरेका थिए । यससँगै थ्री स्टारले तेस्रो खेलमा पहिलो स्पष्ट जित निकाल्न सफल भएको हो । जितसँगै थ्री स्टार ३ खेलमा ४ अंक जोडेको छ । यसै सिजन बढुवा भएको खुमलटारले भने दोस्रो हार भोगेको छ । खुमलटारले ३ खेलमा ३ अंक जोडेको छ ।
लिगमा शनिबार तीन खेल हुने छन् । दिनको पहिलो खेल च्यासल मैदानमा विभागीय टोली नेपाल पुलिस क्लव र संकटा क्लब, दोस्रो खेल दशरथ रंगशालामा एपिएफ क्लब र जावलाखेल युथ क्लब तथा अन्तिम खेल साँझ दशरथ रंगशालामा नै फ्रेन्ड्स र सातदोबाटो युथ क्लबबीच हुने छ ।
प्रतिक्रिया दिनुहोस्