१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


म्याग्दीको बगरफाँट बन्यो बगर


156
Shares

म्याग्दी । नदीको कटानका कारण म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको ३६ रोपनी जग्गा बगरमा परिणत भएको छ ।

२०५७ सालदेखि निरन्तर म्याग्दी नदीमा आएको बाढीले कटान गरेर बगाएको ३६ रोपनी जग्गाको स्थानीयले अझैसम्म पनि कर तिर्दै आएका छन् ।

बगरफाँटस्थित ढलेबगरको विराउटामा अहिले म्याग्दी नदी बगिरहेको छ । नदी बगेको ठाउँभन्दा पारीपट्टी बेनी नगरपालिका–६ को डम्मरासम्म फैलिएको विरौटाको अहिले नामोनिसान नभएपनि जग्गाधनी पूर्जा कामयमै रहेकोे छ । आफूले उपभोग गर्न नमिल्ने जग्गाको समेत कर तिर्न वाध्य हुनुपरेको स्थानीयको गुनासो छ । स्थानीय हिराबहादुर घिमिरे, भक्तवहादुर घिमिरे, ओमवहादुर थापा, कृष्णवहादुर थापालगायतले मालपोत कर तिर्दै आएका छन् ।

२०५७ सालमा म्याग्दी नदीमा आएको भीषण बाढीले जग्गा बगाएको थियो । त्यसयताका २१ वर्षसम्म जग्गाधनीहरुले नियमित रुपमा मालपोत कर तिर्दै आएका जिल्ला मालपोत कार्यालय म्याग्दीले जनाएको छ ।

जिल्ला मालपोत कार्यालय म्याग्दीका प्रमुख कृष्णवहादुर कार्कीले जग्गा नभए पनि जग्गाधनी प्रमाणपत्रमा जग्गा कायमै रहेको देखिएकोले जग्गाधनीले कर तिर्दै आएका बताउनुभयो । स्थानीयले भने सो जग्गालाई सार्वजनिक जग्गामा दर्ता गरी मालपोत कर कट्टा गर्न आग्रह गरेका छन् ।