१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आर्थिक लेनदेन सम्बन्धी यस्तो छ कानूनी व्यवस्था


1.144k
Shares

चिरञ्जिवी नेपाल

मानिस सामाजिक प्राणी भएकोले समाज सामाजिक व्यबहारले चलेको हुन्छ । सामाजिक ब्यबहारमा लेनदेन र आर्थिक कारोवारले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । यसै गरि व्यवसायिक र व्यवहारिक जीवनमा व्यक्तिहरुकाबीच कुनै सर्त राखि ऋणको रुपमा रकम वा वस्तु लिनुदिनु गर्नु लेनदेन हो ।

व्यवसायिक र घरायसी व्यबहारमा लेनदेनका कुराहरु स्वाभाविक हुन्छन । समाजमा परम्परादेखि चलिआएका त्यस्ता लेनदेन व्यबहारलाइ समय क्रमसँगै कानूनले नियमित र व्यबस्थित गरेको पाइन्छ ।

साविक मुलुकी ऐन २०२० लाई विस्थापित गरि आएको हालको मुलुकी देवानी संहिता २०७४ को दफा ४७४ देखि ४९२ सम्ममा यससम्बन्धमा व्यबस्था गरिएको पाइन्छ । दफा ४७४. लेनदेन भएको मानिने : (१) दुई वा दुईभन्दा बढी व्यक्तिहरुबीच कुनै सर्त राखि कुनै रकम वा वस्तु लिनु दिनु गरेमा निजहरुबीच लेनदेन भएको मानिन्छ । (२) उपदफा (१) बमोजिम लेनदेन भएकोमा रकम वा वस्तु लिनेले रकम वा वस्तु दिनेलाई त्यस्तो रकम वा वस्तु फिर्ता गर्नुपर्नेछ । स्पष्टिकरण : यस परिच्छेदको प्रयोजनका लागि “रकम” भन्नाले वस्तुको मूल्य समेत सम्झनु पर्छ । लेनदेन हुनका लागि दुई वा दुई भन्दा व्यक्ति, कुनै रकम वा वस्तु लेनदेन गरेको र उनीहरुका बीचमा एक वा एक भन्दा बढी शर्त हुनुपर्छ । कुनैपनि व्यक्तिले अन्य व्यक्तिलाई रकम वा वस्तु दिनुपर्ने दायित्व भएकोमा त्यस्तो व्यक्तिले ऋण लिए सरह मानिने र त्यस्तो व्यक्तिले कानूनको अधिनमा रही सम्बन्धित व्यक्तिलाई त्यस्तो रकम वा वस्तु फिर्ता गर्नुपर्ने व्यबस्था दफा ४७५ ले गरेको छ ।

कसैले पनि लेनदेन कारोवार गर्दा कानूनबमोजिम लिखत नगरी लेनदेन गर्नु नहुने व्यबस्था दफा ४७६ ले गरेको छ । यदि कुनै व्यक्तिहरुकाबीच लिखत कागज नगरी रकम लेनदेन भएको रहेछ भने त्यसले कानूनी मान्यता नपाउने स्पष्ट छ, त्यस अवस्थामा लेनदेन गर्ने व्यक्तिकाबीच विवाद परेमा कानूनी उपचारको बाटो रहँदैन । लेनदेन कारोवार भएको प्रमाणित गर्ने चेक, बिल, भौचर, रसिद र भरपाई समेतका कागजातहरु लेनदेन प्रयोजनका लागि लिखत हुन, जुन लिखत लेनदेन गर्ने व्यक्तिहरुकाबीच विवाद परेको अवस्थामा प्रमाणको रुपमा लिइन्छ ।

लेनदेन कारोवार गर्दा तयार पारिने लिखतमा लेनदेन गर्ने व्यक्तिहरुको नाम, थर, ठेगाना, बाबु आमा वाजे वज्यैको नाम र विवाहितको हकमा पति पत्नीको नाम, लेनदेनको कारण र परिणाम, वस्तु लेनदेन भएकोमा त्यस्तो वस्तुको मूल्य, फिर्ता गर्ने गरी सापटी पैंचो वा अन्य तवरले लेनदेन, सट्टापट्टा गरेको भए त्यस्तो व्योहरा, लेनदेन गरेको रकम बुझाउने मिति, व्याजदर, लेनदेनको रकम निर्धारित समयमा नबुझाए वा लिखतबमोजिमको अन्य शर्त पुरा नगरेमा लेनदेन बमोजिमको रकम साहुले ऋणीको सम्पत्तिबाट असुल गरी लिन पाउने कुरा, लिखत तयार पारिएको ठाउँ र मितिका साथै अन्य आवस्यक कुराहरु अनिवार्य उल्लेख गर्नुपर्ने व्यबस्था दफा ४७७ ले गरेको छ ।

लिखतमा व्याज लिनेदिने कुरा उल्लेख भएकोमा साहुले ऋणीबाट लिखतमा लेखिए बमोजिमको व्याज लिन पाउने, त्यस्तो व्याजको रकम सावाँ रकमको बार्षिक दश प्रतिशत भन्दा बढी हुनेछैन, लिखतमा व्याजको दर किटान नगरी व्याज लिनेदिने कुरासम्म उल्लेख भएकोमा साहुले ऋणीबाट सावाँ रकमको वार्षिक दश प्रतिशतका दरले ब्याज लिन पाउने, व्याज उल्लेख नगरी मुनाफा लिने कुरा उल्लेख भएकोमा र त्यस्तो मुनाफा के कति लिने कुरा लिखतबाट नदेखिए साहुले ऋणीबाट ब्याज सरह लिन पाउने व्यबस्था दफा ४७८ ले गरेको छ ।

लेनदेन हुँदा लिखतमा व्याज लिनेदिने कुरा उल्लेख नभएमा साहुले ऋणीबाट व्याज लिन नपाउने, कुनै साहुले ऋणीबाट व्याजको व्याज लिन पाउने छैन यदी त्यस्तो व्याज लिएको रहेछ भने सावाँ रकमबाट कट्टी गराई ऋणीले लिन पाउँछ । यदी सावाँ चुक्ता भइसकेको रहेछ भने सो व्याज साहुले ऋणीलाई फिर्ता गरिदिनुपर्छ । यसै गरी साहुले ऋणीबाट सावाँभन्दा बढी व्याज लिन नपाउने स्पष्ट कानूनी व्यबस्था गरिएको छ । सावाँ व्याज लिँदादिँदा कानूनबमोजिमको रीत पुर्याउनु पर्ने हुन्छ, जस्तो ऋणीले साहुलाई सावाँ व्याजको सबै रकम तिरिसकेपछि लिखत च्याती दिने वा लिखतमा यती रकम असुल भएको व्यहोरा जनाई सो लिखतको पीठमा लेखी सो लेखिएको ठाउँमा साहुले सहीछाप गरी ऋणीलाई लिखत फिर्ता दिनुपर्ने र तत्काल लिखत फेला नपरेमा वा साथमा नभए त्यसबमोजिमको रकम बुझेको छुट्टै भरपाई गरी ऋणीलाई दिनुपर्ने व्यबस्था दफा ४८२ ले गरेको छ । घरसारमा भएको लिखतको अवधी दशबर्षको हुन्छ । त्यस्तो लिखतमा नै अवधी तोकीएको छ भने चाहीँ त्यही तोकीएको अवधी कायम हुन्छ । यदी दश बर्षको अवधी भित्र ऋणीले साहुलाई सावाँ व्याज मध्ये केही रकम बुझाएको छ भने अर्को दश बर्षको अवधी थप हुने व्यबस्था दफा ४८४ ले गरेको छ ।

कसैले असक्षम वा अर्धसक्षम व्यक्तिसँग गरेको लेनदेनले कानूनी मान्यता नपाउने व्यबस्था दफा ४८५ ले गरेको छ । त्यस्ता व्यक्तिहरुले आफुले गरेको कामको प्रकृति र परिणाम बुझ्न नसक्ने र आफ्नो हकहितको विचार गर्न नसक्ने हुनाले यस्तो व्यबस्था गरिएको हो । त्यस्ता व्यक्तिहरुको तर्फबाट लेनदेन गर्नुपर्दा निजको संरक्षकको स्वीकृतिमा गरिनु पर्छ ।

कुनै व्यक्तिहरुकाबीच लेनदेन भएकोमा त्यस्तो लेनदेनको लिखतमा घरको मुख्य व्यक्तिको सहिछाप नभएको भए सगोलको सम्पत्तिमा ऋणिको हक नपुगेसम्म साहुले त्यस्तो सम्पत्तिबाट आफनो रकम भराई लिन नपाउने, घरको मुख्य भई काम गर्ने व्यक्तिले नै उक्त रकम तिरिदिएमा साहुले ऋणिसँग दाबी गर्न पाउँदैन । कसैले ऋणीसँग रकम लिन नसक्ने भएमा दश बर्षभित्र साहुले ऋणीउपर नालिस गरी आफ्नो हक कायम गर्नुपर्ने, ऋणीसँग त्यस्तो हक कायम गरेकोमा सगोलको सम्पत्तिमा निजको हक पुगेपछि मात्र साहुले निजबाट आफनो रकम भराईपाउने व्यबस्था दफा ४८६ मा गरिएको छ ।

कुनै चल सम्पत्ति सट्टापट्टा गर्दा एका सगोलका उमेर पुगेका व्यक्तिले घरको मुख्य व्यक्तिको मञ्जुरी नलिई सगोलको सम्पत्ति सट्टपट्टा गर्न नपाइने तर आप्mनो निजी सम्पत्तिको हकमा भने मञ्जुरी आबस्यक नपर्ने, घरको मुख्य व्यक्तिको मञ्जुरी विना गरिएको सट्टापट्टाले मान्यता नपाउने व्यबस्था दफा ४८७ ले गरेको छ । कुनै व्यक्तिहरुले कानूनबमोजिम रीत पुर्याई लिखत नगरेपनि निजहरुका बीच लेनदेन भए गरेको कुरा प्रमाणित भएमा रकम भराईदिन सक्ने, यस्तोमा लिखत, बैंकिङ्ग कारोवार, चेक, भौचर वा वही खातामा लेखिएको व्योहराबाट व्यक्तिहरुका बीच लेनदेन भएको देखिनुपर्ने भन्ने व्यबस्था दफा ४८८ ले गरेको छ ।

घरसारमा भएको लिखत हराएमा वा दैवी परी काबु बाहिरको परिस्थिति परि नासिएमा साहुले सोही व्यहोरा खुलाई लिखत हराएको वा दैवी परेको मितिले पन्ध्र दिन भित्र सम्बन्धित स्थानीय तहमा निवेदन दिनुपर्ने, त्यसरी निवेदन परेमा सम्बन्धित स्थानीय तहले त्यसको व्यहोरा खुलाई भर्पाइ लेखि कार्यालयको छापलगाई त्यसको भरपाई निवेदकलाई दिनुपर्ने, त्यस निवेदनका सम्बन्धमा स्थानीय तहले लिखत गरिदिने व्यक्ति जीवित भए निजलाई र नभए निजको हकवालालाई सात दिनभित्र झिकाई निजले मञ्जुर गरे सोही बमोजिम लिखत तयार गराई त्यस्तो लिखत प्रमाणित गरी निवेदकलाई दिनुपर्ने र अर्को लिखत गरिदिन मञ्जुर नगरे साहुले त्यस्तो म्याद नाघेको पैंतीस दिन भित्र लिखत हराएको वा काबु बाहिरको परिस्थिति परेको प्रमाण देखाई नालिस गरि आफ्नो हक कायम गर्नुपर्ने व्यबस्था दफा ४८९ ले गरेको छ ।

लेनदेन भएको कुनै वस्तु लिखतमा लेखिए बमोजिम नभई कच्चा भएमा वा भोग गर्न नसक्ने भएमा लेनदेन भएको मितिले पैंतीस दिन भित्र वस्तुदिनेलाई त्यस कुराको सूचना दिनुपर्ने, त्यस्तो सूचना मनासिव देखिएमा वस्तु दिनेसँग त्यस्तो प्रकारको अन्य वस्तु भए त्यस्ते वस्तु सट्टापट गरिदिनुपर्ने, सो नगरे क्षतिपूर्ति भराइ लिन वा त्यस्तो लेनदेन बदर गराउन नालिश गर्न सक्ने व्यबस्था दफा ४९० ले गरेको छ ।

यसरी आजको जटिल व्यापारिक र व्यवसायिक युगमा कुनैपनि व्यक्तिहरुका बीच हुने लेनदेन व्यबहारका सम्बन्धमा मुलुकी ऐन २०२० मा रहेको व्यबस्थालाई स्पष्ट र परिमार्जित स्वरुपमा यस संहितामा पनि निरन्तरता दिइएको छ । यती कुराहरु विचार पुर्याउन सके यस सम्बन्धमा पर्ने विवादहरु न्यूनीकरण गर्न मद्दत पुग्ने निश्चित छ ।

(लेखक अधिवक्ता हुनुहुन्छ )