३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


भीरकोट नगरपालिकामा पहिलो हेलीप्याडमा परीक्षण उडान सफल


208
Shares

स्याङ्जा । स्याङजाको भीरकोट नगरपालिकामा पलिकाको पहिलो हेलीप्याडमा परीक्षण उडान सफल भएकाे छ ।

वडा अध्यक्ष नन्दलाल खनालको पहल र वडाको लगानीमा वडा नं ८ को माझखर्क नजिकै पालिकाको पहिलो आधिकारिक हेलिप्याड निर्माण गरिएको थियो ।

कैलाश हेलिकप्टरको 9N -AML का स्वीस पाइलट क्लाउडिले पहिलो परीक्षण उडान गरेको हो। नवनिर्मित हेलीप्याड पोखरा विमानस्थल देखि ७ मिनेटको हवाइदुरीमा रहेको छ।

नवनिर्मित हेलीप्याडको गण्डकी प्रदेश सरकारका पूर्व मन्त्री मेखलाल श्रेष्ठले उद्घाटन गर्नुभएकाे हाे । उद्घाटन गर्दै पूर्वमन्त्री श्रेष्ठले हेलिप्याड वडाध्यक्षको व्यक्तिगत पहलमा निर्माण गरिनु र परीक्षण उडान समेत हुनु खुशीको कुरा भएको बताउनु भयाे। उहाँले आपतकालीन अवस्थामा अब हेलिप्याड प्रयोग गर्नाले जनताका लागि राहत हुने बताउनु भयाे ।

नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले हेलीप्याड जनताको लागि बनाइएको बताउनु भयाे। आपतकालीन उद्दारमा प्रयोग हुने भएकाले धनीका लागि भन्दा पनि गरिबका लागि हेलीप्याड उपयोगी हुने उहाँको भनाइ छ।

निर्वतमान नगर प्रमुख छायाराम खनालले हेलीप्याड निर्माण मानव सेवाका लागि अति महत्वपूर्ण कार्य भएको बताउनु भयाे। भैपरी आउने दुर्घटना, जोखिमपूर्ण अवस्थामा राहत उद्दारमा एवं आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्न हेलीप्याड प्रयोग हुने विश्वास व्यक्त गर्नुभयाे ।

जिल्लामा आपतकालिन उद्दारका लागि आकस्मिक अवतरण गर्न सकिने धेरै ठाउँ भएतापनि जिल्लाको आधिकारिक हेलिप्याड पुतलीबजार नगरपालिका -३ कुमाल गाउँमा आर्मीको आधिकारिक हेलिप्याड बाहेक अरू हेलिप्याड थिएनन् ।

अब भने भीरकोटमा बनेको हेलिप्याड जिल्लाकै दोस्रो आधिकारिक हेलीप्याड बनेको छ। पालिकाकै पहिलो हेलीप्याड भएकाले यसलाई “भीरकोट हेलीप्याड ” नाम दिइएको छ।

ग्रामीण सडकमा यात्रुहरू अझै पनि जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेकाले भैपरी आउने दुर्घटना, गलत खानपानको कारणले सृजना हुने हृदयघात लगायतका आकस्मिक उपचार चाहिने रोगहर पिडित बिरामीको उद्दार अन्य जोखिमपूर्ण अवस्थामा उद्दार गर्न हेलिप्याडको निर्माण गरिएको वडा अध्यक्ष नन्दलाल खनालले बताउनु भयाे ।