
कैलाली । सुदूरपश्चिम लागुऔषध प्रयोगकर्ताको अखडा बन्दै गएको छ ।
खुला सीमा नाकाका कारण सहजै खरिद गर्न पाइने भएपछि प्रदेश नै लागूऔषध प्रयोगकर्ताको अखडा बन्न थालेको हो । विशेषगरी कैलाली र कञ्चनपुरमा यसका प्रयोगकर्ता तुलनात्मक रुपमा बढी देखिएका छन् ।
चालु आर्थिक वर्षको माघ मसान्तसम्म सुदूरपश्चिमबाट लागुऔषध सेवन, बिक्रीवितरण र ओसारपसार गरेको अभियोगमा प्रहरीले ३५१ पुरुष, २६ महिला र ८ जना भारतीय पुरुष गरी ३८५ जनालाई प्रकाउ गरेको छ ।
नेपाल प्रहरीले चालु आर्थिक वर्षको पहिलो महिनामा लागुऔषधका ३४ मुद्दामा ७२ जनालाई प्रकाउ गरेको छ ।
आर्थिक वर्ष २०७९/८० को भदौमा भने लागुऔषध सम्बन्धी ३७ मुद्दामा ५४ जना पक्राउ परेका छन् । जसमध्ये २ जना भारतीय पनि नेपालमा लागुऔषध कारोबारको अभियोगमा पक्राउ परेका हुन् ।
असोजमा २५ मुद्दाका ३३ जना अभियुक्त पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । असोज महिनामा ४ जना महिला समेत लागुऔषध मुद्दामा पक्राउ परेका हुन् ।
त्यस्तै, कात्तिकमा लागुऔषधका ३२ मुद्दा दर्ता भएकामा ५१ जनालाई प्रहरीले पक्राउ गरेको छ । सो अवधिमा ४८ पुरुष र ३ जना महिला लागुऔषध प्रयोग र ओसारपसारको अभियोगमा पक्राउ परेका हुन् । मंसिरमा लागुऔषधका २२ मुद्दामा ३७ जना पक्राउ परेका छन् । जसमध्ये २ जना महिला छन् । पुसमा लागुऔषधका ३५ मुद्दामा ४९ जना पक्राउ परेका छन् । जसमा १ जना भारतीय र ४ जना महिला रहेको प्रहरी अभिलेख छ ।
नेपाल प्रहरीले माघबाट सुदूरपश्चिम प्रदेशभर लागुऔषध विरुद्धको महाअभियान सञ्चालन गरेसँगै माघ महिनामा लागुऔषधका ५५ मुद्दामा ८९ जना पक्राउ परेका छन् । जसमा २ जना भारतीय, १० जना महिला र ७७ जना पुरुष रहेका छन् । यसरी चालु आर्थिक वर्षको सात महिनामा लागुऔषधका २ सय ४० मुद्दामा ३ सय ८५ जना पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरीको तथ्याङ्कले देखाएको छ ।
लागुऔषध सेवनकर्ता नै ओसारपसारमा संलग्न हुने गरेको अभियुक्तबारे अनुसन्धान गर्दा फेला परेको प्रहरी अधिकारीले बताएका छन् । सुदूरपश्चिममा पक्राउ पर्ने लागुऔषधका ९० प्रतिशत अभियुक्त सीमा क्षेत्रबाट पक्राउ परेका हुन् । कैलालीको सीमावर्ती क्षेत्र धनगढी, हसुलीया, भजनी, टीकापुर र अत्तरियाबाट सबैभन्दा बढी लागुऔषधका अभियुक्त पक्राउ पर्ने गरेका छन्।
त्यस्तै, कञ्चनपुरको बेलौरी, पुनर्वास, दोधराचाँदनी र महेन्द्रनगरबाट पक्राउ पर्ने लागुऔषधका अभियुक्तहरूको संख्या पनि उल्लेख्य देखिएको छ । विशेषगरी एक जना प्रयोगकर्ताले नै आफ्नो संगतमा रहेका युवाहरुलाई सेवन गर्न सिकाउने गरेको अधिकारीहरु बताउँछन् । लागूऔषध सेवन गर्नका लागि आफूसँग सधै पैसा नहुने भएपछि लागूऔषध सेवनकै लागि साथी थप्दै जाने गरिन्छ ।
कैलालीमा सञ्चालित सुधार गृहमा रहेकाहरुको भनाइअनुसार अधिकांश प्रयोगकर्ता साथीहरुकै कारण कुलतमा फस्ने गरेका छन् । तीमध्ये केही मानसिक तनावका कारण यसमा लागेको देखिएको छ भने, अन्य प्रेममा धोका पाएकाहरु पनि कुलतमा फस्ने गरेका छन् । अभिभावकको कमजोरीका कारण पनि युवाहरु कुलतमा फसेका छन् । जालो फैलिनुको प्रमुख कारण सेवनकर्तासँगको संगत नै रहेको प्रहरी अधिकारीहरु बताउनुछन् ।
भारतको सीमावर्ती बजारमा खेरै हिरोइनको कारोबार निर्वाध हुने भएकाले नेपाली प्रयोगकर्ताले दैनिक सीमावर्ती क्षेत्रमा पुगेर भारतीयबाट खेरै हिरोइन र अन्य औषधिजन्य लागुऔषध खरिद गर्ने गरेको प्रहरीले जनाएको छ । खुला सीमानाको फाइदा उठाएर लागुऔषधका भारतीय कारोबारीले भारतीय पुलिससँगको मिलेमतोमा नेपाली प्रयोगकर्तालाई भारतीय सीमावर्ती बजारमा खैरो हिरोइन बिक्री गर्ने गरेको देखिएको हो ।
प्रतिक्रिया दिनुहोस्