
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक पदहरुमा राजनीतिक दलहरुको शक्ति सन्तुलन मिलेको बताउनुभएको छ ।
सोमबार नेपाल नगरपालिका संघको ३० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले देशको संवैधानिक पदहरुमा राजनीतिक दलहरुको शक्ति सन्तुलन मिलेकोमा आफू खुशी भएको बताउनुभएको हो ।
उहाँले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष लगायतका संवैधानिक पदहरुमा फरकफरक राजनीतिक दलहरुको प्रतिनिधित्व भएको भन्दै यसले आफूलाई खुशी र गर्वको महशुस गराएको बताउनुभएको हो । उहाँले संवैधानिक पदहरुमा यसरी राजनीतिक सन्तुलन मिल्दा ‘चेक एण्ड ब्यालेन्स’ हुने बताउनुभयो । प्रधानमन्त्री दाहालले राष्ट्रपतिको निर्वाचनसँगै देशमा नयाँ वातावरण बनेको भन्दै अब विकास, समृद्धि र आवश्यक ऐनहरु निर्माणको प्रक्रियामा जानुपर्ने कार्यभार रहेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री दाहालले स्थानीय तहलाई संविधानमा संघीय सरकारको इकाइको रुपमा नहेरी स्थानिय सरकारको रुपमा परिभाषित गरिएको बताउनुभयो । पछिल्लो समय प्रदेश र स्थानीय तहलाई अधिकार दिनु हुँदैन भन्ने बिचार हाबी हुन लागेको भन्दै उहाँले प्रदेश र स्थानीय तहको काम छैन भन्नु राजनीतिक अनैतिकता भएको बताउनुभयो । उहाँले संविधानले व्यवस्था गरे अनुसार आवश्यक ऐन र संरचनाहरु निर्माण गरेर मात्रै यसको समिक्षा गर्नुनपर्ने बताउनुभयो ।
प्रधानमन्त्री दाहालले स्थानीय तहहरुले कर धेरै उठाउने गरेको जनगुनासो आउने गरेको भन्दै त्यस्तो गुनासोलाई गम्भिरतापूर्वक लिनुपर्ने बताउनुभयो । उहाँले सेवाग्राहीमुखि कर प्रणाली बनाउन स्थानीय तहहरुको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्