१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


विराट गोल्डकपमा सहभागी हुने सात टिमको टुंगो लाग्यो


559
Shares

काठमाडौं । विराटनगरमा हुने विराट गोल्डकप फुटबल प्रतियोगितामा सहभागी हुने सात टिमको टुंगो लागेको छ ।

आगामी चैत ९ गतेदेखि १७ गतेसम्म आयोजना हुने प्रतियोगितामा गत संस्करणको च्याम्पियन विभागीय क्लब एपीएफसहित विदेशी टिमको पनि सहभागीता रहने भएको छ । विराट गोल्डकपका लागि भारतबाट २ वटा टिम आउने छन् ।

भारतमा जारी आई लिगको दोस्रो डिभिजन खेलिरहेको दिल्ली एफसी र केरलामा रहेको लुका सकर क्लब प्रतियोगिताका लागि आउने छन् । यसैगरी नेपालका ३ वटा विभागीय क्लब एपीएफ, त्रिभुवन आर्मी र नेपाल पुलिसका साथै घरेलु टोलीको रुपमा विराटनगर सिटी फुटबल क्लबले सहभागीता जनाउने छ ।

विभागीय क्लबबाहेक ए डिभिजन खेलिरहेका संकटा क्लब र जावलाखेल युथ क्लबले पनि प्रतियोगितामा सहभागिता जनाउने छन । यस सिजन प्रतियोगिताको पुरस्कार राशी पनि बढाउने आयोजकले जनाएको छ । गत संस्करणको उपाधि विजेता एपीएफले नगद १५ लाख १५ हजार प्राप्त गरेको थियो । यसैगरी उप विजेता हुने टिमले ७ लाख ५१ हजार प्राप्त गरेको थियो ।

यस सिजन विजेताले कम्तिमा २० लाख र उप विजेताले १० लाख नगद पुरस्कार पाउने छन् । यसैगरी प्रत्येक खेलको विजेता टिमले नगद २५ हजार प्राप्त गर्ने पनि बताइएको छ । खेलहरु रातिको समयमा फलर्ड लाइटमा सञ्चालन हुने छन् । ८ टिमले सहभागिता जनाउने प्रतियोगितामा ७ खेलबाट उपाधिको छिनोफानो हुने छ ।

अहिले शहीद रंगशाला मर्मतको काम अन्तिम चरणमा पुगेको छ ।