१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सबै वामपन्थी घटकलाई एमालेभित्र केन्द्रित हुन भट्टको अपिल


949
Shares

कैलाली । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले सबै वामपन्थी घटकहरूलाई एमालेभित्र गोलबन्द हुन अपिल गर्नुभएको छ ।

नेकपा एमाले धनगढी उपमहानगरपालिकाले आयोजना गरेको नगर स्तरीय जनसंगठनहरूको संयुक्त मिसन ग्रासरुट सम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै एमाले नेता भट्टले वामपन्थीलाई एमालेभित्र केन्द्रित हुन अपिल गर्नुभएको हो ।

उहाँले त्यसको नेतृत्व भने एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने बताउनुभयो । अघिल्लो निर्वाचनमा एमाले भित्रैका कारणहरूले परिणाम सोचेअनुसार आउन नसकेको भट्टले बताउनुभयो । उहाँले ग्रासरुटले बिगतका सबै समस्या हल गर्ने विश्वास व्यक्त गर्नुभयो । जनताले एमालेलाई कसरी बुझेका छन् भन्ने बिषयमा ग्रासरुटले प्रस्ट पार्ने बताउदै उहाले त्यसका लागि घर घर सम्म पुगेर पार्टीका बिषयमा सुझाव संकलन गर्न निर्देशन दिनुभयो ।

मुलुकलाई समृद्ध र जनतालाई सुखी बनाउन समाजवादमा जाने पार्टीको लक्ष्य भएको बताउनुभयो । उहाँले जनपक्षीय नीति र कामले मात्र समाजवाद स्थापना गर्न सकिने उल्लेख गर्नुभयो । हालै सम्पन्न भएका तीन तहका चुनावमा आन्तरिक समस्याले गर्दा पराजय व्यहोर्नुपरेको बताउदै उहाले पार्टीको नीति, सिद्धान्त र निर्णय पालन गर्न निर्देशन समेत दिनुभयो ।

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य तथा प्रदेश सहइञ्चार्ज गणेश ठगुन्नाले मिसन ग्रासरुटले पार्टीलाई अझै बलियो बनाउन भूमिका खेल्ने बताउनुभयो । उहाँले अगामी निर्वाचनबाट एमालेले बहुमत प्राप्त गर्ने बताउदै त्यसका लागि तयारी अवस्थामा रहन आग्रह गर्नुभयो । उहाँले विगतमा टुटफुट र मनमुटुवाका कारण राम्रो नतिजा ल्याउन नसकेको उल्लेख गर्दै एकताबद्ध भएर पार्टीपंक्ति अघि बढनुपर्ने आवश्यकता औल्याउनुभयो ।