१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोशी प्रदेश स्तरीय खुला ब्याडमिन्टनको उपाधि संखुवासभाको जोडीले जित्यो


455
Shares

झापा । चौथो कोशी प्रदेश स्तरीय खुला व्याडमिटन प्रतियोगिताको खुला तर्फको उपाधि संखुवासभाका पबिन लिङ्गखेप र सृजल पोख्रेलको जोडीले जितेका छन् ।

झापाको बिर्तामोडमा सञ्चालित प्रतियोगिताको उपाधि लिङ्गखेप र पोख्रेलको जोडीले भोजपुरका विशाल तामाङ्ग र निश्चल खत्रीको जोडीलाई २५–२३ र २६–२४ को सोझो सेटमा हराएर जितेका हुन् ।

जितसँगै लिङ्गखेप र पोख्रेलले नगद ५० हजार नगद सहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् भने तामाङ र खत्रीले नगद ३० हजार शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यस्तै, बिर्तामोडका नबिल सिलवाल र विवेक कन्दङवाडको जोडी तथा मेची ब्याडमिन्टन क्लब काकरभिट्टाका प्रनिशसिंह ठकुरी र गौरभ दाहाल तेस्रो भएका छन् । तेस्रो दुवै समुहलाई नगद सात हजार ५०० नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

यसैगरी, ४५ वर्षमाथिको भेट्रान्स समूहतर्फ ताप्लेजुङ्गका मदन लिम्बु र घनेन्द्र लिम्बूले बिर्तामोडका सञ्जय भक्तराज र रमेश प्रसाईलाई २१–१४ र २१ –१० को सोझो सेटमा हराउँदै उपाधि जितेको छ ।

जितसँगै मदन र घनेन्द्रले नगद ३० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने सञ्जय र रमेशले नगद १५ हजार सहित मेडल प्रमाणपत्र प्राप्त गरेका छन् ।

यस्तै, बिर्तामोडका श्रीकृष्ण खड्का र राम अवतार घिमिरे तथा सुनसरीका श्याम लामा र भजनलाल चौधरी तेस्रो भएका छन् । उनीहरुले नगद सात हजार ५०० मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

लायन्स क्लव अफ अनारमनी र लायन्स क्लव अफ बिर्तामोडको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगितामा कोशी प्रदेशका ८६ जना खेलाडीको सहभागिता थियो ।