१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्याङ्जामा ८५ प्रतिशत योजनाकाे सम्झौता गरी निर्माण कार्य सुरू


260
Shares

स्याङ्जा । पूर्वाधार विकास कार्यालय स्याङ्जाले करिब ८५ प्रतिशत योजनाकाे सम्झौता गरी निर्माण कार्य सुरू गरेको छ ।

कार्यालयले चालू आर्थिक आर्थिक वर्ष २०७९/०८० का २ सय ६८ योजना मध्ये २ सय २५ योजना सम्झौता गरी निर्माण कार्य सुरू गरेकाे हाे । चालू आर्थिक वर्षका लागि संघीय र प्रदेश सरकारबाट २ सय ६८ योजना निर्माण गर्न १ अर्ब ३१ करोड ८४ लाख ३८ हजार रूपैयाँ विनियोजन भएको थियो ।

५५ वटा योजना सम्पन्न गरेर विनियोजित रकमबाट कार्यालयले ४२ करोड ७६ लाख ७९ हजार ९ सय १७ रुपैयाँ भुक्तानी गरेर सकेको छ । करिब १ महिनाको अवधिमा बाँकी १ सय ५० योजना निर्माण सम्पन्न गरी पूँजीगत खर्चलाई ६० प्रतिशत पुर्याउने कार्यालयले लक्ष्य लिएको छ ।

योजना सम्झौतामा ढिलाई र महँगी लगायतका कारणले समयमै पूँजीगत खर्च गर्न नसके पनि वार्षिक लक्ष्य अनुसार योजनाका काम सुरु भएको कार्यालयले जनाएको छ । सम्झौता भएका योजनाहरुको निर्माण कार्य तीव्र रुपमा अगाडि बढेको छ ।

पूर्वाधारतर्फ सडक, पुल, भवन तथा अन्य योजनाहरुलाई वार्षिक लक्ष्य अनुसार निर्माण कार्यलाई तीव्रता दिइएको पूर्वाधार विकास कार्यालय स्याङ्जाका निमित्त प्रमुख सन्तोष अर्यालले बताउनुभयाे । आर्थिक वर्ष २०७९/०८० का लागि २ करोड ११ लाख ६२ हजार रूपैयाँ विनियोजित चालू खर्च मध्ये कार्यालयले ७८ लाख ९७ हजार ७ सय ७४ रुपैयाँ खर्च गरेको छ ।

विनियोजित बजेटमा चालू खर्चतर्फ ३७ प्रतिशत रकम खर्च भएको कार्यालयले जनाएको छ । योजना निर्माण गर्न विनियोजित कुल बजेट मध्ये हालसम्म ३२ प्रतिशत पूँजीगत खर्च गर्न सफल भएकाे प्रमुख अर्यालले बताउनुभयाे । कुल योजना मध्ये सम्झौता हुन ४३ योजनालाई तत्काल सम्झौता गरी निर्माण कार्य थालनी गर्न लागेकाे पनि उहाँकाे भनाइ छ ।

संघीय, प्रदेश र स्थानीय सरकारले पूँजीगत खर्च गर्न नसकिरहेको अवस्थामा पूर्वाधार कार्यालयको तयारी राम्रो रहेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । हालसम्म ३२ प्रतिशत र करिब १ महिनाभित्र करिब ६० प्रतिशत पुर्याउने लक्ष्यलाई राम्रो भन्न सकिने जनाइएकाे छ ।