
काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेमा नेपाली नागरिकताको प्रमाणपत्र लिने भन्दा राहदानी (पासपोर्ट) लिने मानिसको संख्या बढेको छ ।
कार्यालयको तथ्यांक अनुसार पछिल्लो ३ महिनामा नागरिकता लिने भन्दा पासपोर्ट लिनेको संख्या बढी देखिएको हाे । फागुन महिनामा ७ सय २८ जनाले नयाँ नागरिकता लिएका छन् । त्यस्तै २ हजार २ सय ८९ जनाले राहदानी लिएका छन् ।
प्रतिलिपि नागरिकता ७ सय ४२ जना सेवाग्राहीले लिएका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले जानकारी दिनुभयो । राष्ट्रिय परिचयपत्रका लागि २४ सय भन्दा बढीले फोटो खिचाएका छन् । गत माघ महिनामा नयाँ नागरिकता १ हजार ९०, राहदानी १ हजार ४ सय ७९, प्रतिलिपि नागरिकता ६ सय १३ र राष्ट्रिय परिचय २ हजार ८१ जनाले लिएका छन् ।
त्यस्तै, गत पुसमा नयाँ नागरिकता ७ सय ६०, राहदानी १३ सय ७१, प्रतिलिपि नागरिकता ७ सय ९५ जनाले लिएका छन् । राष्ट्रिय परिचय पत्रका लागि भने २ हजार ९६ जनाले फोटो खिचाएका छन् ।
जिल्ला प्रशासनले टोकन र टाइम कार्ड सुरु गरेसँगै सेवा प्रवाहमा सहजता भएको सेवाग्राहीले बताएका छन् । राहदानी लिनका लागि अनलाईन फाराम भर्नै कठिन अवस्थालाई सहज र सरल बनाउन टोकन र टाईम कार्ड दिएर सेवा सुरु गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । उहाँका अनुसार दैनिक १ सय भन्दा बढी नागरिकहरुलाई बिदाको दिनमा समेत कार्यालयभित्रै अनलाईन फाराम भराएर राहदानीका लागि फोटो खिच्ने गरिएको छ ।
यसअघि सेवाग्राहीले साईबरमा फाराम भर्ने गरेका थिए । साईबरहरुले राहदानीका फाराम भरिदिंदा ५ सय देखि २ हजार रूपैयाँ लिने गरेका थिए । अहिले जिल्ला प्रशासन कार्यालय आफैंले उक्त फाराम भरिदिएपछि नागरिकहरुलाई सहज भएको सेवाग्राहीले बताएका छन् ।
गत फागुन महिनामा जिल्ला प्रशासन कार्यालयले १ करोड ३६ लाख ५८ हजार ६ सय रूपैयाँ राजस्व संकलन गरेको छ । गत माघ महिनामा ८३ लाख २४ हजार ६ सय ५० रूपैयाँ संकलन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्