
कैलाली । कैलालीको त्रिनगर नाका हुँदै नेपाल आउने मालबाहक गाडीबाट ट्राफिक प्रहरीले पैसा असुल्ने गरेका छन् ।
राजस्वको जिम्मा भन्सार कार्यालयलाई भएपनि त्रिनगर नाकामा बस्ने ट्राफिक प्रहरीले गाडी इन्ट्री गरे बापत प्रति गाडी २ सय रुपैयाँ लिने गरेको पाइएको हो ।
कैलालीको त्रिनगर भन्सार नाकामा ट्राफिक प्रहरीले प्रत्येक मालबाहक गाडीबाट बिना कारण पैसा असुल्ने गरेको खुलेको छ । प्रत्येक मालबाहक सवारी साधनबाट २ सय रुपैंयाँ लिने गरेको सवारी चालकहरुको गुनासो छ ।
त्रिनगर ट्राफिक प्रहरी पोस्टबाट खटिने हरेक ट्राफिक प्रहरीले मालबाहक गाडीबाट २ सय रुपैयाँ लिने तर, त्यसको कुनै रसिद नपाएको उनीहरु बताउँछन् । नेपाललाई राजस्व बुझाउनुपर्ने भन्दै ट्राफिक प्रहरीले इन्ट्री गरे बापत २ सय रुपैयाँ लिने गरेको चालकहरु बताउँछन् ।
त्रिनगर नाकामा मात्रै नभएर कैलाली जिल्लाका हरेक पोस्टहरुमा ट्राफिक प्रहरीलाई पैसा नतिर्दासम्म गाडी अगाडी बढ्न नदिइएको उनीहरुको गुनासो छ ।
ट्राफिक प्रहरीले नाका देखि हरेक ठाउँमा रकम मात्रै असुल्न थालेपछि सवारी चालकहरु आजित बनेका छन् । माथिको आदेश भन्दै ट्राफिक प्रहरीले प्रत्येक गाडीबाट रकम असुल्न थालेपछि उनीहरुले आवश्यक छानबिनको समेत माग गरेका छन् । सरकारलाई तिर्नुपर्ने राजस्व बाहेक रकम उठाउन थालिएपछि यसको रोकथाम हुनुपर्नेमा उनीहरुको जोड छ ।
कैलालीको त्रिनगर नाका भएर प्रति दिन २५ देखी ३० वटा मालबाहक सवारी साधन भित्रिने गर्छ । गाडीबाट नाकामा रहेका ट्राफिक प्रहरीदेखि हरेक पोस्टले रकम असुल्ने गरेको सवारी चालकहरुको गुनासो छ ।
तर, जिल्ला ट्राफिक प्रहरी कार्यालय, रकम लिएको विषयबारे अनविज्ञ छ । ट्राफिक प्रहरी प्रमुख बिरेन्द्र जोहारीले रकम लिएको बारे छानबिन गर्ने बताउनुहुन्छ । जनताको सेवाका लागि कसम खाएका ट्राफिक प्रहरीले पेशालाई असुली धन्दा बनाउँदा आम राष्ट्रसेवकमा यसको नकारात्मक प्रभाव पार्छ ।
त्यसकारण त्रिनगर नाकामा खटिने ट्राफिक प्रहरी माथि आवश्यक छानबिन गरी भारतीय सवारी साधनबाट अबैध रुपमा रकम असुल्ने परिपाटीलाई सधैंका लागि अन्त्य गर्न जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्