
खेमराज दाहाल
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले अति विपन्न परिवारका लागि सुरक्षित आवास गृह निर्माण गर्न थालेको छ ।
नगरपालिकाले अति विपन्नहरुको पहिचान गरेर चालू आर्थिक वर्षमा ५० वटा घर निर्माण गरी विपन्न परिवारलाई हस्तान्तरण गर्न लागेकाे हाे । आवास गृह बन्ने भएपछि साेही नगरपालिकाका विपन्न परिवारका मानिसहरू खुशी भएका छन् ।
उदयपुरको त्रियुगा नगरपालिकाले विपन्न र दलित तथा निम्न आयस्रोत भएका आदिवासी जनजाति परिवारलाई सुरक्षित आवास गृह निर्माण गर्ने भएपछि उनीहरु खुशी भएका छन् । सुरक्षित आवास गृह निर्माण परियोजना अन्तर्गत त्रियुगा नगरपालिकाले ह्याबिट्यान्ट फर ह्युम्यानिटी इन्टरनेशनलसँगको साझेदारीमा लक्षित वर्ग तोकेर सुरक्षित आवास गृह बनाइदिन लागेको हो । आवास गृह बन्ने भएपछि त्रियुगा नगरपालिकाका– ४ की निरुमाया कार्कीको खुशीले सीमा नाघेको छ ।
वडा नम्बर ४ शिवशक्ती टोलका स्थानीय हर्षित मात्र छैनन् आफ्नो घर निर्माणका लागि बिहानदेखि बेलुकासम्म श्रमदानमा जुटेका छन् । स्थानीय धरमबहादुर सार्कीको अध्यक्षतामा उपभोक्ता समिति बनाएर आवास निर्माण कार्यको थालनी गरिएको छ । उपभोक्ता समितिमा रहेकाहरुले जनश्रमदान जुटाउन र आवश्यक सहजीकरण गरेर योजना सम्पन्न गराउनुपर्नेछ ।
३० वर्ष ग्यारेन्टीसहितको स्थानीय बाँसलाई ट्रिटमेन्ट गरी दुई वटा बेडरुम, एक किचन र शौचालयसहितको आवास नगरपालिकाले निर्माण गरेर दिने भएको छ । आवास निर्माणको शिलान्यास गर्दै त्रियुगा नगरपालिकाका प्रमुख बसन्तकुमार बस्नेतले अति विपन्नहरुको पहिचान गरी यस आर्थिक वर्षमा ५० वटा घर निर्माण गरि हस्तान्तरण गर्न लागिएको बताउनुभयो ।
करिब साढे ५ लाख रुपैयाँको लागतमा निर्माण हुने आवासमा नगरपालिकाले २ लाख र संस्थाले २ लाख लगानी गर्ने भएकाे छ । बाँकी स्थानीय आफैंले जनश्रमदान गर्नुपर्ने भएकाे छ । स्थानीय स्रोत साधन प्रयोग गरेर भुकम्प र हावा हुन्डरी प्रतिरोधात्मक आवास निर्माण गरिने संस्थाका सव इन्जिनियर नितेशकुमार सिंहले बताउनुभयो । जमिनमुनि दुई फिट र जमिनमाथि दुई फिट ढुंगाको फाउण्डेशन बनाएर माथिको भागमा स्थानीय बाँसलाई विभिन्न केमिकल प्रयोग गरी ट्रिटमेन्ट गरेर प्रयोगमा ल्याइने सिंहले बताउनुभयो ।
यस आर्थिक वर्षमा नगरपालिकाले वडा नम्बर ४ मा २० वटा र वडा नम्बर ३, ८ र ९ मा बाँकी ३० वटा आवास निर्माण गर्न लागेको छ । अन्य परियोजना मार्फत पनि नगरभित्रका अति विपन्न र पिछडिएकाहरुलाई आवास निर्माण गरेर दिन लागेको नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्