१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वीरगञ्ज युनाईटेड सिमरा गोल्डकपको क्वाटर फाइनलमा प्रवेश

भरतपुर र मकवानपुरबीच प्रतिष्पर्धा हुने

767
Shares

बारा । वीरगञ्ज युनाईटेड क्लब सिमरामा जारी जगदम्बा १३ र्औं जीतपुर सिमरा गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएकाे खेलमा वीरगञ्ज युनाईटेडले बागमती युवा क्लबविरुद्ध ३–० को सहज जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको हाे । वीरगञ्जको जितमा विवेक चौधरीले दुई तथा कृपा चौधरीले एक गोल गरेका हुन् । पहिलो हाफ बराबरी खेलेको बागमती विरुद्ध दोस्रो हाफमा वीरगञ्ज हावी भएकाे थियो । बागमती विरुद्ध खेलको ५४ औं मिनेटमा विवेकले अग्रता लिएका थिए ।

बागमतीका गोलरक्षक रविन बस्नेतको गल्तिको फाइदा उठाउँदै वीरगञ्जका विवेकले खाता खोलेका हुन् । डि एरिया छाडेर अघि बढेका गोल रक्षकलाई विट गर्दै विवेकले बललाई डि एरिया बाहिरैबाट गोल पोष्टको दिशा दिएका थिए ।

१–० ले पछि परेको बागमती सम्हालिन नपाउँदै वीरगञ्जका कृपाले अग्रता दोब्बर पारेका थिए । खेलको ५६ औं मिनटमा विवेकको क्रसबललाई कृपाले गोलमा परिणत गरेका थिए । खेल अवधिभर नै विवेक र कृपाको तालमेल उत्कृष्ट देखिएकाे थियाे ।

खेलको ८४ औं मिनेटमा विवेकले व्यक्तिगत दोस्रो गोल गर्दै वीरगञ्जलाई ३–० को फराकिलो अग्रता दिलाएका थिए। कृपाले पेनाल्टी एरियाबाट दिएको व्याक पासलाई विवेकले डि एरिया बाहिरैबाट गोलमा परिणत गरेका थिए ।

बी डिभिजन क्लब वीरगञ्ज सामु निरही देखिएको बागमतीले खेलमा सम्झन लायक अवसर बनाउन सकेन । यद्यपी बागमतीका गोल रक्षक प्रम्जय गच्छदारले भने वीरगञ्जकाे उत्कृष्ट प्रहार बचाउ गरेका थिए । खेलको आठौं मिनेटमा कृपाको उत्कृष्ट प्रहार बागमतीका गोलरक्षकले विफल पारेका थिए । २६ औं मिनेटमा विवेकले वन भर्सेस वनको अवसर गुमाएका थिए । कृपाको क्रसमा विवेक सम्हालिन नसक्दा बागमतीका गोलरक्षक गच्छदारले उत्कृष्ट बचाउ गरेका थिए ।

खेलको ३४ औं मिनेटमा कृपाको प्रहार बागमतीका आफ्रिकी डिफेण्डर मौसाले गोललाइनबाट क्लिएर गरेका थिए । किपर समेत विट भइसकेको अवस्थामा वीरगञ्जका कृपाको प्रहार विफल भयो । त्यस लगतै खेलको ३८ औं मिनेटमा सागर चौधरीको क्रसमा विवेक डिबक्सभित्रबाट गरेको सशक्त प्रहार बागमतीका गोल रक्षकले विफल पारेका थिए ।

वीरगञ्जको जितमा दुई गोल गरेका विवेक खेलको म्यान अफदि म्याच घोषित भएका छन् । उनले १० हजार नगद र ट्रफी प्राप्त गरेका छन् । प्रतियोगिता अन्तर्गत पहिलो क्वाटरफाइनल खेलमा शनिबार केविएग्लो बाल भरतपुर फुटबल क्लब र मकवानपुर ११ बीच प्रतिष्पर्धा हुने भएकाे छ ।

भरतपुरले उद्घाटन खेलमा आयोजकलाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाइसकेकाे छ ।