
बारा । डिफेण्डिङ च्याम्पियन न्युरोड टिम एनआरटी सिमरामा जारी १३ औं जगदम्बा जीतपुर सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएकाे खेलमा एनआरटीले १–० को संघर्षपूर्ण जित हासिल गर्दै सेमी फाइनलमा प्रवेश गरेको हाे। ‘बी’ डिभिजन क्लब वीरगञ्ज युनाईटेडसँगको प्रतिस्पर्धामा एनआरटीका लागि एक मात्र निर्णायक गोल अशोक थापाले गरेका थिए । खेलको २९ औं मिनेटमा कृतिश रत्नचुन्जुको डिबक्सभित्र निकालेको क्रस पासलाई सदुपयोग गर्दै अशोकले उत्कृष्ट गोल गरेका थिए ।
घरेलु दर्शकको समर्थन पाएको वीरगञ्ज युनाइटेड खेलमा केही आकर्षक अवसर बनाए पनि फिनिसिङमा चुक्दा प्रतियोगिताबाट बाहिरिन पुग्यो । खेलको ४८ औं मिनेटमा विवेक चौधरी वन भर्सेस वनको स्थितिमा चुक्न पुगेकाे थियाे । विवेकको प्रहार गोल पोष्ट नजिकबाट बाहिरिएकाे थियाे ।
पहिलो हाफ नियन्त्रणमा लिएको एनआरटी विरुद्ध वीरगञ्जले दोस्रो हाफमा सुधारिएको खेल प्रस्तुत गरेकाे थियाे । दोस्रो हाफको सुरुबाटै एनआरटी विरुद्ध आक्रामक खेल खेले पनि वीरगञ्जले स्कोर बनाउन सकेन ।
खेलको ५४ औं मिनेटमा वरगञ्जले एनआरटी विरुद्ध बराबरी गोल गर्ने आकर्षक अवसर गुमायो । वन भर्सेस वनको स्थितिमा वीरगञ्जका कृपा चौधरीले गोल गर्न चुकेका थिए । कृपाले पेनाल्टी एरियाबाट फितलो प्रहार गर्दा एनआरटीका गोल रक्षक पुजन होनाले सहज बचाउ गरेका थिए ।
खेलको ७४ औं मिनेटमा वीरगञ्जले अर्को आकर्षक अवसर गुमाएको थियो । निरज थापा मगरको क्रस बलमा सागर चौधरीको हेडर बल क्रसबारमा ठोक्किएर बाहिरीन पुग्यो ।अन्तिम समयमा आक्रामक खेल खेलेको वीरगञ्जले ८४ औं मिनेटमा अर्को अवसर गुमाएकाे हाे । निरज थापा मगरको क्रस पासमा कृपाको हेडर बल एनआरटीका गोलरक्षकले उत्कृष्ट बचाउ गरेका थिए ।
दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा वीरगञ्जले अर्को अवसर खेर फाल्यो । कृपाले किपर समेत विट गरिसकेको अवस्थामा गोल गर्न सकेनन् । पेनाल्टी एरियाबाट कृपाले गरेको प्रहार गोल पोष्ट नजिकबाट बाहिरिएकाे थियो । प्रतिस्पर्धात्मक खेलमा एनआरटीले पनि केही आकर्षक गुमाएको थियो। जसका कारण वीरगञ्जविरुद्ध जित निकाल्न अन्तिम समयसम्म कडा संघर्ष गर्नु परेको थियो ।
खेलको सातौं मिनेटमा कृति रत्नचुन्जुको क्रस पासमा अशोकको प्रहार गोल पोष्ट नजिकबाट बाहिरिएको थियो । खेलको ६४ औं मिनेटमा अशोकले किपर समेत विट भइसकेको अवस्थामा गोल गर्न सकेनन् । उनको प्रहार वीरगञ्जका डिफेण्डरले गोल लाईनबाट क्लिएर गरेका थिए ।
एनआरटीलाई अन्तिम चारमा पुर्याउन निर्णायक गोल गरेका अशोक खेलको म्यान अफदि म्याच घोषित भएका थिए । उनले १० हजार नगदसहित ट्रफी प्राप्त गरेका छन् । प्रतियोगिता अन्तर्गत सोमबार सातदोबाटो युथ क्लब र हिमालयन शेर्पाबीच तेस्रो क्वाटर फाइनल खेल हुने भएकाे छ ।
प्रतिक्रिया दिनुहोस्