
काठमाडौं । तपाईं काठमाडौंको व्यस्त सडकमा बाटो काट्दा कतै हेलचेक्र्याइँ त गरिरहनुभएको छैन ? सामान्य सडक मात्र होइन, जेब्रा क्रसिङमा समेत अनाहकमा ज्यान गुमाउनेको संख्या बढिरहेको छ । यो वर्ष मुलुकभर १ सय २७ जनाले बाटो काट्ने क्रममा ज्यान गुमाएका छन् ।
पछिल्लो ८ महिनामा बाटो काट्ने काठमाडौं उपत्यकामा मात्र ४३ जनाको ज्यान गएको छ । मृत्यु हुनेहरुमा ९९ जना पुरुष र २८ जना महिला छन् । ८ महिनाको अवधिमा देशभर ज्यान गुमाएका मध्ये ३५ प्रतिशत घटना काठमाडौंमा भएको छ । काठमाडौं उपत्यकामा पैदलयात्रु सबैभन्दा धेरै दुर्घटना हुने गरेको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता राजेन्द्र भट्ट बताउनुहुन्छ । सवारी दुर्घटना पर्ने सबैभन्दा धेरै १७ देखि ३५ वर्ष उमेरसमूहका रहेको प्रवक्ता भट्ट बताउनुहुन्छ ।
दुर्घटनामा अधिकांस दुई पांग्रे सवारी रहेको छ भने मृत्यु हुनेहरुमा १७ देखि ३५ वर्ष उमेर समुहका छन् । सवारी चाप अधिक रहेको अवस्थामा बाटो काट्न खोज्ने र आकासे पुलको उपयोग नगर्नेहरु दुर्घटनामा पर्ने गरेका छन् । पैदल यात्रुको लापरवाहीले नै पैदलयात्रु दुर्घटनामा परेको प्रवक्ता भट्ट बताउनुहुन्छ ।
सडक दुर्घटनाबाट हुने मृत्युदर न्युनिकरणको लागि पैदल यात्रु स्वयम् सजग हुनुपर्ने, बाटो हिँड्दा सडकपेटीको प्रयोग, बाटो काट्दा उपलब्ध भएको ठाउँमा आकाशे पुलको प्रयोग गर्ने, आकाशे पुल नभएको ठाउमा जेब्राक्रसिङ्गबाट बाटो काट्ने र पैदलयात्रामा निस्कँदा मोबाइलको प्रयोग नगर्न प्रहरीले सचेत गराएको छ ।
प्रतिक्रिया दिनुहोस्