१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिन्धुली अस्पतालमा दक्ष जनशक्ति र प्रविधिको अभाव, बिरामीलाई सास्ती


65
Shares

सिन्धुली। सिन्धुलीका सरकारी अस्पतालमा पर्याप्त दक्ष जनशक्ति-सुविधा र पूर्वाधार नहुँदा बिरामीले सास्ती खेपिरहेका छन् ।

ग्रामीण भेगका स्वास्थ्य संस्थाहरूले अधिकांश बिरामी उपचारका लागि सदरमुकामको अस्पतालमा रिफर समेत गरेका हुन् । तर सदरमुकामको अस्पतालमा पूर्वाधार भएपनि जनशक्तिकाे अभावका कारण बिरामी जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेकाे छ । पूर्वाधार भएका अस्पतालमा जनशक्ति र जनशक्ति भएका अस्पतालमा सुविधाकाे अभाव रहेकाे छ ।

पूर्वाधार पर्याप्त भएका अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी रिक्त हुँदा बिरामीले सेवा पाउन सकिरहेका छैनन् । सरकारी सबै अस्पतालको साझा समस्या भने एउटै छ । त्यो हो, विशेषज्ञ दरबन्दी हुने तर जनशक्ति सधै अभाव हुने गरेकाे छ।

सिन्धुलीमा रहेको अस्पताललाई १५ शैयाबाट स्तरवृद्धि गरेर ५० शैयाको बनाएको वर्षाैं भइसकेकाे छ । अस्पताल ५० बेडमा स्तराेउन्नति भए पनि दरबन्दी अनुसार विशेषज्ञ जनशक्ति र प्रविधिको अभावका कारण प्रभावकारी सेवा प्रवाह हुन सकिरहेको छैन। सिन्धुली अस्पतालमा २ महिनादेखि वरिष्ठ कन्सल्टेन्ट रेडियोलोजिस्टको दरबन्दी खाली हुँदा अस्पतालको भिडियो एक्सरे सेवा बन्द भएको छ ।

अस्पतालमा भिडियो एक्सरे सेवा बन्द हुँदा दैनिक सेवा लिन आउँने दर्जनौं सेवाग्राही अस्पताल बाहिरका क्लिनिकहरुमा महँगो शुल्क तिरेर सेवा लिन बाध्य भएकाे छन् । अस्पतालमा हुने प्रसुती सेवा लगायतका सेवाको लागि भिडियो एक्सरे अनिवार्य हुनुपर्ने भए पनि अस्पतालका डाक्टरहरुले बाहिरी क्लिनिकमा गरेको भिडियो एक्सरेकाे आधारमा उक्त सेवा प्रदान गरिररहेको अवस्था छ ।

स्वीकृत दरबन्दी अनुसार अस्पतालमा हुनुपर्ने ११ औं तहको प्रमुख मेडिकल सुपरिटेन्डेन्टदेखि वरिष्ट कन्सल्टेन्ट पेडियाट्रिसियन, वरिष्ठ कन्सल्टेन्ट अब्सट्रेसियन, वरिष्ठ कन्सलटेन्ट अर्थोपेडिक सर्जन, वरिष्ठ कन्सलटेन्ट साइक्याट्रिस, वरिष्ठ कन्सल्टेन्ट एनेस्थोसियोलोजिष्ट, वरिष्ठ कन्सल्टेन्ट जनरल फिजिसियन र वरिष्ठ कन्सल्टेन्ट रेडियोलोजिष्टसहितको विशेषज्ञ डाक्टरहरुको दरबन्दी खाली रहेको छ ।

छात्रवृत्ति करारमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट अब्सट्रेसियन, वरिष्ठ कन्सलटेन्ट अर्थोपेडिक सर्जन र वरिष्ठ कल्सन्टेन्ट एनेस्थोसियोलोजिष्ट डाक्टरहरु मार्फत लामो समयदेखि अस्पताल चलिरहेको छ।त्यस्तै,अस्पतालमा दरबन्दी अनुसार फिजियोथेरापिस्ट, मेडिकल ल्याब टेक्नोलोजिस्ट, डेन्टल हाइजिस्टि, बायोमेडिकल प्राविधिक सेवा पनि उपलब्ध हुन नसकेको अवस्था रहेको जिल्ला अस्पताल सिन्धुली का सूचना अधिकारी राजकुमार गोलेले जानकारी दिनुभयो ।

अस्पताल दरबन्दी तर्फ ३३ जना, अस्पताल बिकास समितिको तर्फबाट २४ जना, छात्र वृत्ति करार तर्फ ११ जना, प्रदेश सरकार अनुदान २५ जना र विभिन्न् कार्यक्रम तर्फ २१ जना गरी कुल १ सय २६ स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत रहेको सूचना अधिकारी गोलेले बताउनुभयाे । अस्पतालमा ८ जना विशेषज्ञ डाक्टर मध्ये ८ जना डाक्टरको दरबन्दी खाली रहेको छ ।

छात्रवृत्ति करारमा कार्यरत ३ जना विशेषज्ञ डाक्टरहरुले सेवा प्रदान गरिरहेको अवस्था रहेकाे छ ।अस्पतालले जनरल सर्जरी अन्तर्गत हाइड्रोसिल, हर्निया, एपेन्डिक्स, सामान्य चिकित्सा तथा बालरोग सेवाअन्तर्गत दम, मुटु, निमोनिया, बाथ, थाइराइड, मधुमेह, उच्च रक्तचाप, एच.आई.भि. र क्षयरोगको नियमित रुपमा अस्पतालमै उपचार सेवा दिइरहेको अस्पतालका प्रमुख डा. उमेश प्रधानले बताउनुभयो ।

साथै अस्पतालले २४ सैं घण्टा आकस्मिक सेवा, फर्मेसी सेवा, ल्याब सेवा, एक्स–रे सेवा, प्रसुति सेवा, ओसिएमसी सेवा र एम्बुलेन्स सेवा उपलब्ध गराउँदै आएको मेडिकल सुपरिटेण्डेन्ट उमेश प्रधानले जानकारी दिनुभयो । अस्पतालले सामान्य रगतको जाँचदेखि कलेजोको कामको जाँच, बोसोको जाँच (लिपिड प्रोफाइल), नून-सोडियम, पोटासियम) को जाँच, दिसा, पिसाब, रगतको जाँच र कल्चर सेवा प्रदान गर्दै आइरहेको छ ।

गुणस्तरिय स्वास्थ्य सेवामा थप अब्बलता हासिल गर्न दरबन्दी अनुरुपका विशेषज्ञ डाक्टरहरुको पदपूर्तिका लागि अस्पताल ब्यवस्थापन समिति र जनप्रतिनिधिले आवश्यक पहल गर्न नसक्दा जिल्लावासीहरु गुणस्तरीय स्वास्थ्य सेवाबाट बञ्चित भएका छन् ।