१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाल पुलिसलाई हराउँदै सुदूरपश्चिम ११ खप्तड गोल्डकपको सेमिफाइनलमा


234
Shares

कैलाली । आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लब धनगढीमा जारी छैठौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनल पुगेको छ ।

धनगढी रङ्गशालामा मंगलबार भएको खेलमा नेपाल पुलिस क्लबमाथि ४–० गोल अन्तरको जित निकाल्दै आयोजक सुदुरपश्चिम ११ सेमिफाइनल पुगेको हो ।

फाइनल प्रवेशका लागि सुदुरपश्चिम ११ ले बुधबार थ्रीस्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

सुदुरपश्चिम ११ को फराकिलो जितमा आयुष श्रेष्ठले ह्याट्रिक गरे । खेलको ३० औं मिनेटमा पहिलो गोल गरेका उनले ५१ औं मिनेटमा दोस्रो र ६३ औं मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरे । उनै मंगलबारको खेलको म्याच अफ द म्याच पनि भए ।

खेलमा स्वयम हार्दिकले एक गोल गरे । उनले खेलको ४ मिनेटमै गोल गर्दै सुदुरपश्चिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।

प्रतियोगिताको विजेता टोलीले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएका छन् ।