
बारा । चर्च ब्वाईज युनाईटेड जगदम्बा १३ औं जीतपुर सिमरा गोल्डकपको उपाधिकाे होडमा प्रवेश गरेको छ।
बिहीबार सिमरामा भएकाे खेलमा चालू सिजनको ‘ए’ डिभिजन लिगमा अपराजित चर्च ब्वाईज युनाईटेड उपाधिकाे होडमा प्रवेश गरेको हाे । बिहीबार साँझ सिमरा रंगशालामा साविक विजेता न्युरोड टिम एनआरटीलाई २–० ले पराजित गर्दै चर्च ब्वाईज पहिलो सहभागितामै उपाधि दौडमा आफूलाई उभ्याउन सफल भएकाे हाे ।
उपाधि रक्षाको मनोबलका साथ सिमरा आएको साविक विजेता न्युरोड टिम एनआरटीविरुद्ध चर्च ब्वाईजका अफ्रिकी मिडफिल्डर ओउसो बेम्पा र रञ्जित पाण्डेले १–१ गोल गरेकाे थिए । सिमरा रंगशालाको फ्लडलाईटमा एनआरटीलाई दवावमा राखेको चर्च ब्वाईजका लागि १६ औं मिनेटमा ओउसो बेम्पाले पेनाल्टी मार्फत अग्रता दिलाएका हुन् ।
आक्रामक मुभ बनाएका चर्च ब्वाईजका रञ्जित पाण्डेलाई एनआरटी कप्तान विक्रम धिमालले डिबक्सभित्रफाउल गरेपछि फिफा रेफ्री नविन्द्र महर्जनले पेनाल्टी अवसर प्रदान गरेका थिए । दुई खेलाडी बिट गरिसकेको अवस्थामा चर्चका रञ्जित पाण्डेविरुद्ध एनआरटीका विक्रमले फाउल गर्न पुगेका थिए ।
२–० ले पछि परिसकेको अवस्थामा खेलमा फर्कने प्रयास गरेको एनआरटीका लागि खेलको ५४ औं मिनेटमा चर्चका अफ्रिकी गोलरक्षक प्रिसो बाधक बनेका थिए । कृतिस रत्नचुन्जुले दुई खेलाडी बिट गर्दै पेनाल्टी एरिया नजिकनिकालेको बलमा अशोक थापाको प्रहार चर्चका गोलरक्षक प्रिसोले उत्कृष्ट बचाउ गरेका थिए।
त्यस लगतै ५६ औं मिनेटमा एनआरटीले अर्को अवसर गुमायो । कृतिस रत्न चुन्जुले पेनाल्टी एरियामै निकालेको सटिक पास सञ्जिव विष्टले सम्हाल्न नसक्दा एनआरटीले पाएको सुनौलो अवसर गुमाएकाे हाे । सञ्जिवले सम्हाल्न नसक्दा रोहन खड्गीले गरेको फितलो प्रहार चर्चका गोल रक्षक प्रिसोले सहजै बचाएका थिए ।
खेलको ६० औं मिनेटमा एनआरटीका सञ्जिव विष्टले अर्को अवसर गुमाएका थिए । सनम लिम्बुले डिबक्सभित्र निकालेको बल नियन्त्रणमा लिएर पनि समयमै पोष्टको दिशा दिन नसक्दा चर्चका डिफेण्डरले क्लिएर गर्ने मौका पाए । जितसँगै चर्च ब्वाईजले शनिबार हुने उपाधि भिडन्तमा ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पासँगको भेट पक्का गरेकाे छ ।
शेर्पा मकवानपुर ११ हेटौंडालाई पराजित गर्दै जीतपुर सिमरा गोल्डकपको फाइनल प्रवेश गरिसकेको छ।खेलको ज्योति विकास बैंक म्यान अफदि म्याच चर्च ब्वाईजका डिफेण्डर कमल श्रेष्ठ घोषित भएका छन्। उनले नगद १० हजार रूपैयाँ र ट्रफी प्राप्त गरेका छन् ।
उनलाई जीतपुर सिमराका वडाध्यक्ष हिराबहादुर गुरुङ र ज्योति विकास बैंकका सिमरा शाखा प्रमुख भरत आचार्यले पुरस्कार प्रदान गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्