
बैतडी । शुक्रबार बिहान ८ बजेदेखि सुरु भएकाे माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा अवधिभर बैतडीमा मदिरा बिक्री वितरणमा रोक लगाइएको छ ।
जिल्लाको मेलौली नगरपालिकाले नगरभित्र एसइई परीक्षाअवधिभर मदिर बिक्री वितरण र सेवनमा रोक लगाएको हो । नगरभित्र रहेका ३ वटै परीक्षा केन्द्र आसपास तथा परीक्षासँग सम्बन्धित व्यक्तिहरु बास बसेको ठाउँ नजिक मदिरा बिक्री वितरणमा रोक लगाइएको मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्दले जानकारी दिनुभयो ।
मेलौलीमा मणिलेक माध्यमिक विद्यालय काँडा, दुर्गा माध्यमिक विद्यालय खलिगाड र विजयपुर माध्यमिक विद्यालय तिताबै गरी जम्मा ३ वटा परीक्षा केन्द्र तोकिएका छन् । परीक्षार्थीलाई परीक्षाको समयमा मदिरा सेवनले बाधा पुग्न सक्ने भन्दै नगरपालिकाले यस्तो निर्णय गरेको हो ।
परीक्षा अवधिभर मदिरा बिक्री वितरण र सेवन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने पनि जनाइएको छ । यसै गरी पालिकाले परीक्षा सञ्चालन अवधिभर तोकिएको दररेट भन्दा बढी मूल्यमा अन्य उपभोग्य सामान बिक्री वितरण नगर्न समेत अनुरोध गरेको छ ।
यसैबीच बैतडीमा एसइई परीक्षामा करिब ५ हजार भन्दा बढी परीक्षार्थी सहभागी भएका छन् । नियमित तर्फ ५ हजार ९ सय ८९ जना, ग्रेड वृद्धिका १ सय ४४, प्राविधिक धारतर्फका २ सय १८ गरी ५ हजार ३ सय २८ जना विद्यार्थी शुक्रबार एसइई परीक्षामा सहभागी भएका छन् । परीक्षाका लागि बैतडीमा २५ वटा परीक्षा केन्द्र तोकिएका छन् ।
परीक्षालाई मर्यादित र निष्पक्ष रुपमा सम्पन्न गर्न सरोकारवाला निकायलाई आवश्यक सहयोग गरिदिन शिक्षा विकास तथा समन्वय इकाई बैतडीका प्रमुख नरेन्द्र अवस्थीको आग्रह समेत गर्नुभएकाे छ ।
प्रतिक्रिया दिनुहोस्