
बारा । जगदम्बा १३ औं जीतपुर सिमरा गोल्डकपको उपाधिका लागि शनिबार चर्च ब्वाईज युनाइटेड र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुने भएकाे छ ।
शनिबार साँझ सिमरा रंगशालामा हुने अन्तिम प्रतिस्पर्धामा दुवै टिम सिजनकै पहिलो उपाधि उचाल्ने दाउमा हुने भएकाे हुन् । जारी सिजनमा दुवै टिम उपाधि विहीन अवस्थामा छन् । मोफसलका प्रतियोगितामा दुवै टिमको यो दोस्रो फाइनल हो । चालू सिजनमा चर्च ब्वाईजले इटहरी गोल्डकप र शेर्पाले मकवानपुर गोल्डकपको फाइनल खेलेका थिए । तर दुवै टिम उपविजेता रहन पुगेका थिए ।
मोफसलका अन्य प्रतियोगितामा सहभागी हुँदै सिमरा आएका दुवै टिम उपाधि विहीनताको अवस्थाको अन्त्य गर्न चाहन्छन् । दुवै टिमका लागि यो उपाधि निकै महत्वपूर्ण छ । यो प्रतियोगिता सम्पन्न भए लगत्तै ए डिभिजन लिगको छैठौं चरणका खेल सोमबारदेखि सुरु हुँदैछन् ।
काठमाडाैं पुगेर लिगको यात्रा थालनी गर्न आफूहरुका लागि जीतपुर सिमराको उपाधिले उर्जा थप्ने टिमका कप्तान तथा प्रशिक्षकको भनाइ छ । लिगमा अपराजित रहेको चर्च ब्वाईजका प्रशिक्षक प्रदीप हुमागाई पहिलो सहभागितामै उपाधि उचालेर जीतपुर सिमरामा इतिहास रच्न र मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिताको उपाधि लिएर लिगको सुरुवात गर्न चाहन्छन् ।
‘बी डिभिजनबाट बढुवा भएर आएपछि उत्कृष्ट फूटबल प्रदर्शन गर्दै आएको चर्च ब्वाईजले जीतपुर सिमरा गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको हो । एपीएफ र एनआरटीलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको चर्च ब्वाईजले इतिहास रच्न शेर्पा विरुद्ध उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ ।
दोस्रो संस्करणको विजेता र चौथो संस्करणको उपविजेता शेर्पा जीतपुर सिमरा गोल्डकपका लागि परिचित टिम हो । लामो समयदेखि निरन्तर सहभागिता जनाउदै आएपनि उसले पछिल्लो १० वर्षदेखि भने जीतपुर सिमरामा सुखद नतिजा प्राप्त गर्न सकेको थिएन् । फाइनलको यात्रा तय गर्न १० वर्ष प्रतिक्षा गरेको शेर्पा दोस्रो पटक उपाधी उचाल्ने अवसर खेर फाल्न चाहदैन् । शेर्पाका टिम मेनेजर विजेन्द्र पुडासैनीले उपाधिका लागि प्रतिस्पर्धा गर्न तयार रहेको बताए ।
पत्रकार सम्मेलनमा उपस्थित हिमालयन शेर्पाका कप्तान विश्वास श्रेष्ठ र चर्चका कप्तान मिलन राईले उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रन तयार रहेको बताएका छन् । शनिबार साँझ सिमरा रंगशालाको फ्लड लाईटमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यतामा फाइनल खेल हुने आयोजक नवजन जागृति युवा क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिएका छन् ।
जीतपुर सिमरा गोल्ड कपको हालसम्मका उपाधि विजेता:
२०७८ न्युरोड टिम एनआरटी,२०७७ संकटा क्लब,२०७५ थ्री स्टार क्लब, २०७४ त्रिभुवन आर्मी,२०७३ संकटा क्लब,२०७२ विजय युथ क्लब हेटौंडा,२०७१ त्रिभुवन आर्मी क्लब,२०७० नवजन जागृति युवा क्लब सिमरा,२०६९ मनाङ मर्स्याङदी क्लब,२०६८ मनाङ मर्स्याङदी क्लब,२०६७ हिमालयन शेर्पा क्लब र २०६६ मजदुर शहीद स्मृति क्लब रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्