१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जीतपुर सिमरा गोल्डकपकाे उपाधि चर्च ब्वाईजलाई


208
Shares

बारा । चर्च ब्वाईज युनाईटेडले बाराको सिमरा रंगशालामा जारी जगदम्बा १३ औं जीतपुर सिमरा गोल्डकपको उपाधि जितेको छ ।

गत शनिबार साँझ सिमरा रंगशालामा भएकाे खेलमा हिमालयन शेर्पा क्लबलाई २–० ले स्तब्ध पार्दै चर्च ब्वाईज युनाईटेडले उपाधि जितेको हाे । उपाधि जितेसँगै चर्च ब्वाईजले १० लाख रूपैयाँ र ट्रफी प्राप्त गरेकाे छ । उपविजेता हिमालयन शेर्पाले भने ५ लाख रुपैयाँमा चित बुझाएकाे छ । प्रतियोगितामा पहिलो पटक सहभागी भएकाे चर्च ब्वाईजलाई जीतपुर सिमरा गोल्डकपको ट्रफी दिलाउने क्रममा कप्तान मिलन राई र आशिष चापागाँईले गोल गरेका थिए ।

खेलको सुरुवातमै १० खेलाडीमा समेटिएको हिमाालयन शेर्पाले सिमराका समर्थक माझ जितका लागि अन्तिमसम्म संघर्ष गरेको थियो । खेलको छैठौं मिनेटमा हिमालयन शेर्पाका दिवस उराव रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । सेन्टरलाईनबाट बल अघि बढाउँदै शेर्पाको डि–एरिया प्रवेश गरेका चर्च ब्वाईजका रन्जित पान्द्रेलाई लडाएपछि हिमालयनका डिफेण्डर उरावलाई फिफा रेफ्रि नविन्द्र महर्जनले सिधै रातो कार्ड देखाएका थिए ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाईजका डिफेण्डर कमल श्रेष्ठ घोषित भएका छन् । उनले टिभीएस राइडर मोटरसाईकल प्राप्त गरेका छन् । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक चर्चका युएस प्रिसो, डिफेण्डर फ्र्यांकलीन टाला, मिड फिल्डर सुवास गुरुङ र प्रशिक्षक प्रदिप हुमागाई घोषित भएका छन् । उनीहरुले समान २० हजार रूपैयाँ प्राप्त गका छन् ।

प्रतियोगिताको उत्कृष्ट फरवार्ड हिमालयन शेर्पाका सुशील राई घोषित भएका छन् । उनले २० हजार रूपैयाँ प्राप्त गरेका छन् । सर्वाधिक गोलकर्ता भरतपुर फुटबल क्लबका सुनिल श्रेष्ठ घोषित भएका छन् । उनले २० हजार रूपैयाँ प्राप्त गरेका छन् । प्रतियोगिताको उदयमान खेलाडी नवजन जागृति युवा क्लब सिमराका दिलीप माझी घोषित भएका छन् । उनले १५ हजार रूपैयाँ प्राप्त गरेका छन् ।

अनुशासित टिमको ट्रफी हेटौंडाको मकवानपुर ११ ले जितेकाे छ । फाइनल खेलको म्यान अफ दि म्याच चर्च ब्वाइजका डिफेण्डर फ्र्यांकलीन टाला घोषित भएका छन्।

जीतपुर सिमरा गोल्ड कपको हाल सम्मका उपाधि विजेता:

२०७९ चर्च ब्वाइज युनाईटेड, २०७८ न्युरोड टिम एनआरटी, २०७७ संकटा क्लब, २०७५ थ्रीस्टार क्लब,२०७४ त्रिभुवन आर्मी,२०७३ संकटा क्लब,२०७२ विजय युथ क्लब हेटौंडा, २०७१ त्रिभुवन आर्मी क्लब,२०७० नवजन जागृति युवा क्लब सिमरा,२०६९ मनाङ मर्स्याङदी क्लब,२०६८ मनाङ मर्स्याङदी क्लब, २०६७ हिमालयन शेर्पा क्लब र २०६६ मजदुर शहीद स्मृति क्लब रहेका छन् ।