७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


१६ सय वर्ष पुरानो लिच्छवीकालीन अभिलेख नष्ट

अभिलेख नष्ट गर्नेलाई फौजदारी मुद्दा चल्न सक्छ

1.729k
Shares

काठमाडौं । नेपालको सभ्यतासँग जोडिएका काठमाडौं उपत्यकाका ऐतिहासिक मठमन्दिर, सम्पदा संरक्षणको अभावमा आपराधिक प्रवृत्तिका मानिसको चलखेल गर्ने साधन भएका छन् । यसैक्रममा काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं ७ मा रहेको १६ सय वर्ष पुरानो लिच्छवीकालीन अभिलेख रहेको शिला ध्वस्त पारिएको अवस्थामा फेला परेको छ ।

पुरातात्विक र ऐतिहासिक रुपमा अत्यन्त संवेदनशील रहेको नेपाल मण्डलको आफ्नै विशिष्ट महत्व रहेको छ । यहाँ कुनै पनि ठाउँमा कुनै पनि समयमा पुरातात्विक महत्वका अभिलेख पाउँन सकिन्छ । केही दिनअघि फुटुङमा निजी निवासको हाताभित्र करिब १६ सय वर्ष पुरानो लिच्छवीकालिन अभिलेख प्राप्त भएको थियो । जुन पुरातात्विक रुपमा अत्यन्त महत्वपूर्ण र इतिहासको नयाँ तथ्य पत्ता लाग्नेमा यस विषयका विज्ञ उत्साही थिए ।

तर, भेटिएको केही घण्टा नवित्दै चकनाचुर पारिएको अवस्थामा अभिलेख फेला परेकोमा सबै दुःखी छन् । लिपीविज्ञ श्यामसुन्दर राजवंशीका अनुसार अभिलेख करिब १६ सय वर्ष पुरानो मानदेवका नाति बसन्तदेवको पालाको हो । अभिलेख नष्ट गरिएकोमा दुःखी छन् उनी ।

झण्डै ५ फिट अग्लो अभिलेख राजेन्द्र मास्केको घरमा पानी ट्याकी बनाउने क्रममा फेला परेको थियो । अमूल्य अभिलेखबारे पुरातत्व विभागलाई जानकारी नगराईकनै नष्ट गरियोे । मास्केले भने ठेकेदारको लापर्वाहीका कारण सम्पदा नष्ट भएको स्पष्टीकरण दिएका छन् ।

नष्ट भएको अभिलेखको अवशेष पुरातत्व विभागका कर्मचारी गएर संकलन गरेका छन् । नेपालको कानून अनुसार पुरातात्विक सम्पदा र वस्तु नष्ट गर्नु अपराध हो । प्राचिन स्मारक संरक्षण ऐन अनुसार सय वर्ष भन्दा पूराना पुरातात्विक सामाग्री नष्ट गर्नेलाई फौजदारी कानूनअनुसार मुद्दा चल्न सक्छ । त्यसैले बसन्तदेवको यो अभिलेख के कति कारणले नष्ट गरियो यस विषयमा अनुसन्धान हुन आवश्यक छ । यसका लागि राज्य संम्वेदनशील हुन आवश्यक छ ।