१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लुम्बिनी सरकार अल्पमतमा परेको प्रमाणित भएको छैन: मुख्यमन्त्री गिरी


117
Shares

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आफ्नो सरकार अल्पमतमा नपरेको दावी गर्नुभएकाे छ।

सोमबार बिहान दाङको तुलसीपुरमा संचारकर्मीसँग संक्षिप्तमा कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । आफ्नो सरकार अल्पमत परेको भन्ने कुरामा प्रदेश सभामा परीक्षण हुन बाँकी रहेको उहाँले बताउनुभयो ।

उहाँले विश्वासको मत नपाएको खण्डमा मुख्यमन्त्री भइरहने सवाल नभएको पनि बताउनुभयो । उहाँले विश्वासको मत लिने समय अझै रहेको भन्दै त्यो समयभित्र लिने पनि स्पष्ट पार्नुभयो ।

उहाँले आफूहरुको दावी अब संविधानको धारा १६८ को (३) अनुसार जानुपर्छ भन्ने दावी रहेको बताउनुभयो । उहाँले भन्नुभयो.- ‘प्रदेश प्रमुख कसरी जानुहुन्छ भन्ने कुरा हो । तर, हाम्रो दावी धारा १६८ को (३) अनुसार जानुपर्छ भन्ने हो । अहिले १६८ को ( २ ) मा बनेको यो सरकार हो । ’

वर्तमान सरकार असफल भएर अविश्वासको अवस्थामा पुगेमा धारा ३ अनुसार प्रदेश सभाबाट म्यान्डेट पाउनुपर्ने आफूलाई लागेको उहाँकाे तर्क छ । प्रदेशको ठूलो पार्टी को छ भन्ने कुरामा भन्दा पनि धारा १६८ को ३ अनुसार जानुपर्ने आफ्नो धारणा रहेको उहाँले उल्लेख गर्नुभयो ।