१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बीपी राजमार्गमा फोहोर फ्याक्नेलाई पाँच हजार जरिवाना


156
Shares

सिन्धुली । सिन्धुली जिल्लाको बीपी राजमार्गमा जथाभावी रुपमा फोहार फ्याक्ने जोकोहीलाई पनि सुरक्षाकर्मीले पक्राउ गरी पाँच हजार जरिवाना गर्ने भएको छ ।

मित्रराष्ट्र जापान सरकारको अनुदान सहयोगमा निर्माण भएको राजमार्गमा प्लास्टिकजन्य सामग्री सवारी साधनबाट फाल्दा वातावरणीय प्रदुषण बढेको अवस्थामा सो नियम लागू गरिएको कमलामाई नगरपालिकाले जनाएको छ ।

पछिल्लो समयमा नेपालकै नमूना र सुन्दर सडकको रुपमा रहेको बीपी राजमार्गलाई फोहोर रहित सफा सुन्दर र हराभरा बनाउने उद्देश्यले बृहत सरसफाई अभियान पनि सुरु गरिएको छ ।

जिल्लाको कमलामाई नगरपालिका, डिभिजन वन कार्यालय सिन्धुली जिल्ला प्रहरी कार्यालय र सामुदायिक वन समूहहरुको संयोजनमा भैरहेको सरसफाई अभियानमा राजमार्ग आवत जावत गर्ने भाडा तथा निजी सवारी साधनलाई रोकेर प्लास्टिकजन्य सामग्री र अन्य फोहोर जथाभावी नफ्याँक्न समेत चेतना प्रवाह गरिएको छ ।

सो अभियान अन्तर्गत पहिलो चरणमा कमलामाई नगरपालिका-६ को शिवनगरदेखि हिरापानीसम्म र कमला पसलदेखि कल्याणी सिस्नेरी सम्मको सडकमा रहेको फोहोर हटाईएको छ । चियाबारी, पिपलभन्ज्याङ, ढुग्रेभन्ज्याङ, सेल्फिडाडा, सोलाभन्ज्याङ खनियाखर्क सम्म कमलामाई नगरपालिकाले र अन्य नगर तथा गाँउपालिकाको राजमार्ग क्षेत्रमा समन्वय गरी सरसफाई अभियानलाई प्रभावकारी बनाइने जनाईएको छ ।

सिन्धुलीको बीपी राजमार्गमा प्लास्टिकका बोतल, पराग गुट्खा, सुर्तीजन्य पदार्थका खोल, खाद्य सामाग्रीका खोल, अन्य फोहोरले राजमार्ग प्रदूषित भएकाले फोहोर जथाभावी फ्याक्नेलाई कारवाही हुने समेत जनाईएको छ ।