
बैतडी । नेकपा (एमाले) ले सञ्चालन गरेको मिसन ग्रास रुट अभियानमा गाउँपालिकाका कर्मचारी, शिक्षकसमेत सहभागी रहेका पाइएका छन् । बैतडीको दोगडाकेदार गाउँपालिकामा कार्यरत कृषि प्राविधिक कविराज भट्ट, शिक्षक नरेन्द्र कुँवर लगायत सहभागी रहेको पाइएको हो ।
बुधबार दोगडाकेदार गाउँपालिका–२ मा सञ्चालन भएको मिसन ग्रास रुट कार्यक्रममा भट्ट र कुँवर सहभागी भएको पाइएको हो ।
दोगडाकेदार–१ मा कार्यरत रहेका प्राविधिक भट्ट मिसन ग्रास रुट अभियानमा वडा नम्बर दुईमा पुग्नु भएको हो । प्राविधिक भट्ट मिसन ग्रास रुटमा आफू लगायत सहभागी तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै ‘मिसन ग्रासरुट पार्टी सुदृढीकरण तथा बिस्तार अभियान वडा न २ को बैठक !!’ भनेर स्टेटस समेत राख्नु भएको छ ।

भट्टले आफूले सार्वजनिक गरेको पोष्ट गाउँपालिका अध्यक्ष चक्र कार्की, उपाध्यक्ष पार्वती कार्की लगायतलाई ट्याग समेत गर्नुभएको छ ।
यस्तै भुमिराज आधारभुत विद्यालय, ढिकगाडमा कार्यरत शिक्षक कुँवर पनि उक्त कार्यक्रममा सहभागी हुनुभएको छ ।
गाउँपालिकाबाट तलब खाने कर्मचारीले यसरी पार्टीका कार्यक्रममा खुल्लमखुल्ला उपस्थित हुने प्रचारप्रचार गर्दा समेत सम्बन्धित निकाय भने मौन रहेको छ ।
एमाले दोगडाकेदार गाउँपालिका अध्यक्ष काशी विष्टले कर्मचारी, शिक्षकले पनि पार्टीको कार्यक्रममा सहभागी हुन मिल्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कर्मचारीहरु पनि पार्टीका संगठनमा आवद्ध रहेका हुन्छन्, उनीहरुले पनि कार्यक्रममा आउन मिल्छ ।’
यता दोगडाकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रबिन्द्रबहादुर धामीले भने कर्मचारी, शिक्षक मिसन ग्रास रुट अभियानमा सहभागी भएकोबारे आफूलाई जानकारी नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कर्मचारी उक्त कार्यक्रममा रहेकोबारे हामीलाई जानकारी छैन, गाउँपालिकाको कर्मचारीले यसरी पार्टीको कार्यक्रममा जान नहुने हो ।, म बुझ्छु के रहेछ ।’
प्रतिक्रिया दिनुहोस्