१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


धनगढीमा आयुर्वेदिक पद्धतिबाट उपचार सुरू


351
Shares

कैलाली । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा आयुर्वेदिक पद्धतिबाट उपचार सुरू भएको छ । सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालय विधिवत रुपमा सञ्चालन भएपछि अब प्रदेशमै आयुर्वेद प्रशोधन केन्द्र पनि सञ्चालनमा ल्याउन यहाँका नागरिकले माग गरेका छन् ।

कैलालीको धनगढी उप–महानगरपालिका–१३ मा सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालय सञ्चालनमा आएको छ । चिकित्सालयको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले गर्नुभयो ।

आयुर्वेदिक विधिको उपचार सेवालाई बिस्तार गर्ने योजनाका साथ सातै प्रदेशमा आयुर्वेद चिकित्सालय सञ्चालनका लागि संघीय सरकारले बजेट बिनियोजन गरेको थियो । प्रादेशिक आयुर्वेद अस्पताल प्रदेश सरकार मातहत राखिएको छ । चिकित्सालयको उद्घाटन गर्दै मुख्यमन्त्री शाहले प्रदेश सरकारको ठूलो सम्पत्तिका रुपमा रहेको आयुर्वेद चिकित्सालयलाई प्रवर्द्धन गर्ने दायित्व प्रदेश सरकारकै रहने बताउनुभयो ।

आयुर्वेद चिकित्सालयमा बिरामीलाई निःशुल्क उपचार र औषधि वितरण गर्ने गरिएको छ । प्रदेश सरकारबाट ५० शैयाको स्वीकृति पाएको प्रादेशिक आयुर्वेद चिकित्सालयमा नयाँ वर्षबाट अन्तरङ्ग सेवा सुरू हुँदैछ । चिकित्सालयले अहिले बहिरङ्ग सेवा, प्रयोगशाला र पञ्चकर्म–पूर्वकर्म, होमियोपेथी उपचार सेवा दिइरहेको छ । साथै वाथ रोग, नसा च्यापिएको, हड्डी खिइएको, पक्षघात र छाला सम्बन्धि समस्या भएका बिरामीको उपचार हुने गरेको छ ।

चिकित्सालयले स्वास्थ्य शिविर सञ्चालन गरेसँगै बिरामी आउने क्रम बढेको जनाएको छ । दैनिक १ सय ५० भन्दा बढी बिरामीले चिकित्सालयबाट सेवा लिइरहेका छन् । पञ्चकर्म–पूर्वकर्म विधिबाट समेत उपचार सुरू भएपछि बिरामीको रोजाइमा आयुर्वेद पद्धति पर्ने विश्वास लिइएको छ । अब यसै क्षेत्रमा आयुर्वेद प्रशाेधन केन्द्रको समेत स्थापना गरी स्वास्थ्यसँगै आर्थिक विकासमा पनि लाग्नुपर्नेमा आम नागरिकको जोड छ ।

धनगढी उपमहानगरपालिका– १३ राजपुरमा रहेको आयुर्वेद चिकित्सालयले असोज ११ गते नयाँ भवनबाट सेवा सुरू गरेको थियो ।

गत कात्तिक २६ गतेबाट पहिलो पटक पञ्चकर्म–पूर्वकर्म विधिबाट उपचार सेवा सुरू गरेको चिकित्सालयमा हाल दैनिक लगभग २ सय बिरामी आउन थालेका छन् । चिकित्सालयले बिस्तारै अन्य सेवा थप्ने जनाएको छ ।