
सिन्धुली । सिन्धुलीको दुधौलीमा निर्माण गरिएको पुल सम्पन्न नहुँदै भत्किएको छ ।
दुधौली नगरपालिका–२ को भलुवाही स्थित नयाँटोल र अमारेटोल लालबस्ती जोडने खारखोलामा निर्माणाधीन पुल स्थानीयले उपभोग गर्न नपाउदै भत्केर लाखौं सरकारी रकमको दुरुपयोग भएको छ ।
हिउँदका दिनमा भन्दा वर्षायाममा आउने बाढीले त्यस क्षेत्रका स्थानीयहरुको आवत जावतमा कठिनाई भएपछि दुई वर्ष अगावै खारखोलामा स्ल्याव कल्भर्ट प्रकृतिको पुल निर्माणका लागि सघन शहरी तथा भवन डिभिजन कार्यालय मन्थली रामेछापको करिब २५ लाखको लागतमा पुल निर्माण सुरू गरेको थियो तर पुल भने स्थानीयले उपभोग गर्न नपाउदै भत्केको हो ।
निर्माण नसकिदै पुल भत्किएपछि स्थानीयले विरोध गरेका छन् । सरकारी सम्बन्धित निकाय सघन शहरी तथा भवन डिभिजन कार्यालय मन्थली र सो पुल निर्माण गर्ने स्थानीय ठेकेदार बिकेआर कन्ट्रक्सनले पुलको निर्माणमा लापरवाही गरेकाले सोही स्थानमा अर्को पुल बनाउनु पर्ने स्थानीय हेमबहादुर भुजेलले बताउनुभयो । उक्त पुल मर्मत गर्दा पुलमा आवत जावत जोखिम रहने भएकाले नयाँ पुल नै बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।
निर्माण नसकिदै पुल भत्किएपछि स्थानीयको समस्या समाधान गर्न सरकारी सम्बन्धित निकाय सघन शहरी तथा भवन डिभिजन कार्यालय मन्थली र ठेकेदार मार्फत काम स्थानीयले भने बमोजिमले गराउन दुधौली नगरपालिकालाई भने दवाब परेको दुधौली नगरपालिकाका उपप्रमुख चन्द्रकिशोर थारुले बताउनुभएको छ ।
उहाँले स्थानीयले आफ्नो ठाउँमा आएको विकास बजेट दुरुपयोग भएपछि नियमनकारी निकाय तथा अख्तियारको ढोकासम्म आवाज उठाउदै आएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्