
कैलाली । पछिल्लो समय कैलालीको धनगढी उप–महानगरका महिला दुना टपरी उत्पादनमा जुटेका छन् ।
घरको काम सकेर बचेको समयलाई सदुपयोग गर्दै उनीहरु सामुहिक रुपमा दुना टपरी उत्पादनमा जुटेका हुन् । धनगढी उप–महानगरपालिकाले तालिमसँगै मेशिनसमेत उपलब्ध गराएपछि महिलाहरूको हौसला बढेको छ ।
धनगढी उप–महानगरपालिकाले महिलालाई दुना टपरी बनाउने तालिमका साथै मेशिन पनि उपलब्ध गराएपछि यहाँका महिला दुना टपरीको उत्पादनमा जुटेका छन् । उनीहरुले बनाएको दुना टपरी धनगढी बजारमा बिक्री गर्ने गरेका छन् । पूजामा काम लाग्ने दुना टपरी बजारमा खाजा खान पनि प्रयोग हुने गरेको छ ।
गत माघ महिनाबाट दुना टपरी उत्पादन सुरू गरेको हिमाली दुना टपरी उद्योगमा करिब ३० जनाको समुह रहेको छ । उद्योगबाट हाल कच्चा पदार्थ तथा बिजुलीको बिल तिर्न पुग्ने आम्दानी भइरहेको उनीहरू बताउँछन् ।
ठूलो टिम भएका कारण सुरूको आम्दानी नदेखिए पनि बिस्तारै राम्रो आम्दानी हुने उनीहरू बताउँछन् । थप मेशिन सहयोग भए उत्पादन बढ्ने र आम्दानी पनि बढ्ने उनीहरूको अपेक्षा छ ।
धनगढी उप–महानगरपालिकाले पछिल्लो वर्ष मात्रै १ सय ८० जना महिलालाई दुना टपरी उत्पादन सम्बन्धी तालिम दिइसकेको छ, भने ५० जनाले तालिम लिइरहेका छन् । यसलाई उत्पादनसँग जोड्न धनगढी उप–महानगरपालिकाले समूहगत रुपमा ९ वटा मेशिन उपलब्ध गराएको छ ।
दुना टपरी उत्पादनमा जोड दिएको उप–महानगरले हरेक कार्यमा प्लाष्टिकको विकल्पमा दुना टपरी प्रयोगमा ल्याउने जनाएको छ । यसले महिला आत्म निर्भर बन्नुका साथै प्लाष्टिक मुक्त उप–महानगर बनाउन मद्दत पुग्ने जनप्रतिनिधिको अपेक्षा छ ।
बढ्दो शहरीकरणसँगै प्रदुषण बढिरहेका बेला धनगढी उप–महानगरपालिकाले प्लास्टिक मुक्त अभियान सफल पार्न दुना टपरी उत्पादनमा जोड दिएको हो । यसले प्लास्टिक मुक्त धनगढी बनाउनुका साथै महिलालाई आत्मनिर्भर बनाउनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्