
पर्वत । पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा चितुवाको बच्चा मृत अवस्थामा भेटिएको छ ।
दोबिल्ला–फलेवास सडक खण्ड अन्तर्गत कुश्मा नगरपालिका र फलेवास नगरपालिका जोड्ने पहरे पुल नजिकै कालोपत्रे सडकमा बुधबार बिहानै चितुवाको बच्चा मृत अवस्थामा भेटिएको हो । सवारी चालक र स्थानीयले चितुवाको बच्चा देखेपछि तत्काल नै जिल्ला प्रहरी कार्यालय पर्वत र डिभिजन वन कार्यालय पर्वतमा खबर गरेका थिए ।
उद्धारका लागि पुगेको प्रहरी र डिभिजन वन कार्यालयका कर्मचारीहरूले चितुवाको बच्चा मृत रहेको पुष्टि गरेर डिभिजन वन कार्यालयमा ल्याएर त्यसको अन्त्येष्टी गरेको कार्यालय प्रमुख विष्णु अधिकारीले बताउनुभयो । घाइते वा बिरामी अवस्थामा फेला परेको भएमा जीवित्तै उद्धार गरेर उपचारको लागि पठाइने भए पनि यो चितुवाको बच्चा मृत रहेको पुष्टि भएकाले मुचुल्का गरेर गाडिएको हो ।
यस अघि यहि चैत ८ गते सदरमुकाम कुश्मा बजारकै एक घरमा चितुवा पसेको थियो । त्यसअघि गत फागुन १९ गते फलेवास नगरपालिका घाइते अवस्थामा भेटिएको चितुवालाई काखमा बोकेर हिंडाएको तस्बीर सामाजिक सञ्जालमा ‘भाइरल’ भएको थियो ।
–
प्रतिक्रिया दिनुहोस्