१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कक्षा ८ को परीक्षामा धनगढीका १७ विद्यालयकाे नतिजा शून्य


65
Shares

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाका १७ वटा सामुदायिक विद्यालयका कक्षा ८ को परीक्षामा सबै विद्यार्थी फेल अर्थात ननग्रेड भएका छन् ।

विगतमा आन्तरिक मूल्याकंनबाट विद्यार्थीहरुलाई ग्रेड दिइने गरेपनि यस पटक उपमहानगरले कडाईका साथ कक्षा ८ को परीक्षा सञ्चालन गरेकाे थियाे । जसका कारण एक संस्थागत र १६ वटा सामुदायिक गरी जम्मा १७ वटा विद्यालयको नजिता शून्य आएको हो ।

उपमहानगरले यस पटक आधारभूत तह अर्थात कक्षा ८ को परीक्षा सञ्चालनका लागि विगत भन्दा फरक नियम बनाएको थियो । विगतमा विद्यालयहरुले आन्तरिक मूल्यांकनबाटै विद्यार्थीहरुको नतिजा पठाउने भएपनि यस पटक उपमहानगर आफैंले फरक परीक्षा केन्द्र तोकेर कक्षा ८ को परीक्षा सञ्चालन गरेको थियो।

उपमहानगरका १७ विद्यालयहरुमा नतिजा शून्य आएको छ । उपमहानगरको शिक्षा, युवा तथा खेलकुद महाशाखाले नतिजा तयार गरेर प्रकाशित गर्न सम्बन्धित विद्यालयमा पठाएको छ । शून्य नतिजा ल्याउने विद्यालयको नाम सार्वजनिक नगरेपनि १७ वटा विद्यालयका कुनै विद्यार्थीले पनि कक्षा ९ मा भर्ना हुन आवश्यक ग्रेड प्राप्त नगरेको महाशाखाका प्रमुख नरेन्द्र बहादुर खातीले बताउनुभयाे ।

कक्षा ८ को परीक्षाको नतिजाले धनगढीका विद्यालयहरुमा ठूलो हल्लीखल्ली मच्चिंएको छ । विगतमा उपमहानगरलाई प्रभावित बनाएर ग्रेस दिन लगाएर शतप्रतिशत नतिजा हासिल गर्न अभ्यस्त विद्यालयहरू यस पटक उपमहानगरले परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशनमा कडाई गरेपछि धेरै विद्यालयहरूको नतिजा शून्य भएको हो ।

यता नतिजा उल्टिएपछि शिक्षकहरु ग्रेडवृद्धिको माग गर्दै विद्यालयलाई सच्चिने मौका दिएर उपमहानगरले प्रदान गर्ने सेवामा समेत सुधार ल्याउनुपर्ने जनकल्याण माविका प्रधानाध्यापक तर्कराज जोशी, दुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक मोहन भण्डारी र त्रिनगर माध्यमिक विद्यालयका भुपाल खड्काकाे जाेड छ ।

धनगढीका सबै जसो सामुदायिक विद्यालयमा यो वर्ष कक्षा ९ मा विद्यार्थी भर्ना न्यून हुने देखिएको छ। केही विद्यालयहरूमा भने कक्षा ९ वर्षभरी रित्तो हुने भएका छन् । यता उपमहानगरले कक्षा ८ को परीक्षामा ननग्रेड कायम भएका विद्यार्थीका लागि ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ ।

यहि वैशाख २९ र ३० गते सैद्धान्तिक तर्फ बढीमा दुई वटा विषयमा ननग्रेड कायम भएका विद्यार्थीहरूका लागि ग्रेड वृद्धि परीक्षा हुने तय भएको छ । विद्यार्थीको जग बलियो बनाउन सके मात्रै माथिल्लो तह बलियो बन्ने बताउँदै उपमहानगरका मेयर गोपाल हमालले दिन मिल्ने ग्रेड दिइने तर फेल भएकालाई ग्रेड बढाउन नमिल्ने बताउनुभयो ।

उपमहानगरका अनुसार धनगढीमा ६३ सामुदायिक विद्यालयका ३३ प्रतिशत विद्यार्थी मात्रै कक्षा ९ मा भर्ना हुन योग्य छन् । विद्यालयहरूमा गुणस्तरीय पढाई नभएका कारण नै धनगढीमा कक्षा ८ को नतिजा निराशाजनक आएको हो ।