२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


विश्वकै जेठा पर्वतारोही कार्लोस सोरिया धौलागिरी बेसक्याम्पमा


65
Shares

म्याग्दी । स्पेनका ८३ वर्षीय कार्लोस सोरिया म्याग्दीको धौलागिरी गाउँपालिका–४ मुदीमा रहेकाे धौलागिरी हिमाल आरोहणका लागि बेसक्याम्पमा पुग्नुभएकाे छ ।

उहाँ ८ हजार १ सय ६७ मिटर अग्लाे धौलागिरी हिमाल आरोहणका लागि बेसक्याम्पमा पुग्नुभएकाे हाे। सन् १९९८ मा पहिलो पटक आरोहण प्रयास गरेका कार्लोसको यो १३ औँ प्रयास हो । धौलागिरी आरोहण गर्ने सपना पूरा गर्न यसपाली कार्लोस पुनः बेसक्याम्प पुगेको आरोहण दलको नेतृत्व गरेका मिङतेम्बा शेर्पाले जानकारी दिनुभयो । यस बीचमा कार्लोसले थुप्रै हिमालको आरोहण गर्नुभएकाे छ ।

सन् २००१ मा सगरमाथा आरोहण गरेका कार्लोसले नेपालकै चोयु, मकालु, मनास्लु, लोत्से, कञ्चनजंघा, अन्नपूर्ण समेत ८ हजार मिटर अग्ला १२ वटा हिमालको आरोहण गरी विश्व रेकर्ड बनाउनुभएकाे छ । गत वर्ष पनि उहाँ धौलागिरीको ७ हजार मिटरको उचाइमा पुगेर फर्किनुभएकाे थियाे ।

अहिलेसम्मका ज्येष्ठ उमेरका आरोही दावी गरिरहनु भएका कार्लोसलाई यस पटक धौलागिरी आरोहण गराईछाड्ने आरोहण ब्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेक्सले जनाएको छ । प्रतिकूल मौसमका कारण यतिबेला कार्लोसको आरोहण दल बेसक्याम्पमा रोकिएको छ ।

सेभेन समिटका तर्फबाट २५ जना विदेशी आरोही बेसक्याम्पमा पुगेको सेभेन समिटका प्रबन्धक थानेश्वर गुरागाईँले जानकारी दिनुभयाे । अनुकूल मौसम भए २० देखि २५ दिनभित्रमा हिमाल आरोहण गर्ने उहाँले बताउनुभयाे । स्पेनका ८३ वर्षीय पर्वतारोही कार्लोससहितको आरोही टिम १२ दिन अघि बेसक्याम्पमा पुगेको छ ।

अहिले त्यहाँ भारी हिमपात भइरहेको खबर आएको प्रबन्धक गुरागाईले बताउनुभयाे । आरोहीहरू अनुकूल मौसमको प्रतीक्षामा रहेकाे पनि उहाँले बताउनुभयाे । मौसममा सुधार आए लगत्तै आरोहीहरू धौलागिरीको चुचुरोतर्फ जाने उहाँकाे भनाइ थियाे । ८३ वर्षीय कार्लोसले यसपाली धौलागिरी हिमाल आरोहण गर्ने प्रबन्धक गुरागाईले विश्वास पनि व्यक्त गर्नुभयाे ।