
काठमाडौं । उपनिर्वाचन मार्फत नेपाली जनताले आफ्नो मन र मत परिवर्तन गरेका छन् ।
यो उपनिर्वाचनले ठूला र पुराना भनिएका दलहरुलाई नराम्रोसँग झस्काएको मात्रै छैन सुध्रिन र जनताको पक्षमा काम गर्न स्पस्ट शन्देश दिएको छ । नभए जनता समय अनुसार परिवर्तनको मार्गमा रोकिने छैनन् भन्ने कुरा यो उपनिर्वाचनले सिकाएको छ । तनहँु निर्वाचन क्षेत्र नम्बर –१, चितवन –२ र बारा –२ मा उपनिर्वाचन भएको हो । तनहुँ १ बाट उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्वर्णिम वाग्ले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोबिन्द भट्टराई नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाललाई भारी मतान्तरले पछि पार्दै विजयी भए ।रास्वपाका वाग्लेले ३४ हजार ९१९ मत प्राप्त गर्दा कांग्रेसका भट्टराईले २० हजार १२२ र नेकपा एमालेका खनालले ८ हजार ४८८ मत ल्याए । भट्टराई र खनालले पाएको मत जोड्दा पनि वाग्लेको जति पुग्दैन ।
तनहुँमा कांग्रेस र एमालेले गत निर्वाचनमा पाएको मत समेत जोगाउन सकेनन् । चितवन–२ मा त रास्वपाका अध्यक्ष समेत रहेका रबि लामिछानेले बिगतको आफ्नै रेकर्ड तोडेर सर्वाधिक ल्याएर विजयी भए । गत मंसिर ४ मा भएको निर्वाचनमा उनले ४९ हजार २९६ मत ल्याएर विजयी भएका थिए भने यो उपनिर्वाचनमा ५४ हजार १७६ मत ल्याए । उनका निकटतम प्रतिद्वन्दी नेपाल कांग्रेसका जित नारायण श्रेष्ठले ११ हजार २१४ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याए । यसले के संकेत गर्छ भने जनतामा पुराना दलहरुप्रति वितृष्णा जागेको छ । किनकि पुराना दलले सत्तमा भाषण र आफ्ना आसेपासे पोस्ने मात्रै गरे काम गरेनन् त्यसैकारण जनता रास्वपाले उठाएको परिवर्तनको मुद्धामा लागे ।
तनहुँ र चितवनको उपनिर्वाचन ठूला दलहरुलाई सच्चिने पाठ सिकाउन पर्याप्त छ । बारा २ मा भने जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता लिइरहेका छन् । उनी सत्ता गठबन्धनका उम्मेदवार हुन् । उनलाई जनमत पार्टीका शिवचन्द्र कुसवाहले पछ्याइरहेका छन् । रास्वपाले दुइ सिट जितेर सरकार परिवर्तन हुने त होइन, तर रास्वपा वैकल्पिक शक्तिका रुपमा नेपाली राजनीतिमा शसक्त रुपमा उदाएको छ । जसले पुराना पार्टीलाई पुराना कथा भनेर होइन वर्तमान समय अनुकुल परिवर्तन हुन दबाव परेको छ ।
ठूला दलहरुलाई पटक पटक जनताले विश्वास गरेकै हुन् तर ती पार्टीबाट उनीहरुले निराश हुँदै जानुपर्ने स्थिति भयो । महंगी,भ्रष्टाचार,दण्डहीनता मौलाउँदै गयो नागरिकको सुखी र समृद्ध बन्ने आकांक्षा पूरा हुन सकेको छैन । विकराल वेरोजगारी समस्या, पढेलेखेका र देशलाई आवश्यक पर्ने जनशक्ति दैनिक विदेशिनु पर्ने अवस्थाको अन्त्य हुन सकेको छैन त्यस्तै विचौलिया र माफियाको जगजगीले जनता आजित भएपछि उनीहरुले परिवर्तनको एजेण्डालाई साथ दिएर रास्वपालाई अनुमोदन गरेका हुन् ।
देशमा भएका २००७ साल देखिका हरेक परिवर्तनमा नेपाली जनताले ठूला दलहरुलाई साथ दिएकै हुन् । विश्वास गरिएका दलहरुले नेपाली जनतामा परिवर्तनको अनुभव दिन नसक्दा आज उनीहरु वैकल्पिक शक्तिका रुपमा रास्वपालाई विश्वास गर्न पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस्