२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


पूँजी बजारको वृद्धि किन रोकियो ?


1.183k
Shares

काठमाडौं । पूँजी बजारलाई अर्थतन्त्रको ऐनाका रुपमा विश्लेषण गर्ने गरिन्छ । अर्थतन्त्रको ब्यारोमिटर मानिने पुँजी बजारले लय समात्न नसकेको लामो समय भैसकको छ । सरकारी प्रयास र आश्वासनले पनि लगानीकर्ताको मनोबल उकास्न सकेको छैन ।

कहिले हरियो त कहिले रातो हुनुलाई पुँजीबजारको सुन्दरता मानिन्छ । तर लगातार उकालो वा ओरालो लागिरहनुलाई भने स्वभाविक मान्न सकिंदैन । २०७८ साल भदौ ३ गते नेपालको पुँजीबजारले हालसम्मकै उच्च बिन्दु ३१ सय ९८ विन्दु कायम गरेको थियो । तर त्यसयता बजार फेरि त्यो तहमा पुग्न सकेको छैन । त्यसयता निरन्तरजसो वियरिष ट्रेण्डमा रहँदै बजार अहिले १८ सयको लाइनमा आएको छ । एकताका दैनिक २१ अर्ब माथि सम्म पुगेको कारोबार अहिले मुश्किलले अर्ब हाराहारीमा खुम्चिएको छ । ४२ खर्ब ८४ अर्ब सम्म पुगेको बजार पुँजीकरण २७ खर्ब ५६ अर्बमा झर्दा लगानीकर्ताले १५ खर्ब गुमाइसकेका छन् ।

सामान्यतया बैकको व्याजदर र पुँजीबजारको सम्बन्ध विपरित रहने गर्दछ । निक्षेप ब्याज बढ्दा लगानी बैंकतर्फ सर्ने र ब्याज घट्दा शेयरतर्फ लगानी जाने बताइन्छ । तर अहिले बजारलाई कर्जादरले गाँज्दा लगानीकर्ता प्रंभावित भएको बताइएको छ । पछिल्लो समय ब्यादर घट्ने र तरलतामा पनि सुधारको संकेत देखिएको छ । यसले लगानीकर्ता उत्साही हुने अपेक्षा गर्न सकिन्छ । तर वर्तमान अवस्थामा भने नीति निर्माणकर्ताबीचको तारतम्य मिल्न नसक्दा पनि लगानीकर्ता चेपुवामा परिरहेको विश्लेषक हेमन्त बस्याल बताउनुहुन्छ ।

नेतृत्वले अर्थतन्त्रमा सुधार देखेपनि सूचकले देखाएको छैन । सोहि कारण पनि मनोबल बढ्न नसकेको लगानीकर्ता बताउदै आएका छन् । पुँजी बजारलाई बैकको व्याजदरले मात्र नभई अन्य तत्वले पनि असर गर्ने स्कट ब्रोकर्स एशोसिएसनका उपाध्यक्ष सरिता अधिकारी बताउनुहुन्छ ।

बजारको आत्मबल जतिबेला बढ्छ फण्ड चलायमान हुन गई समग्र आर्थिक गतिविधि बढ्दै जाने हुन्छ । त्यस्तै, हिजोका अर्थतन्त्रको असन्तुलनका कारण पूरा हुन नसकेको फण्डको चक्र अहिले पुरा हुने प्रक्रियामा रहेको र यसको प्रतिफल देखिन समय लाग्ने बस्याल बतताउनुहुन्छ ।

मुख्यतयाः लगानीकर्ताले मुलुकमा राजनैतिक र आर्थिक स्थायित्व नै खोजेको देखिन्छ । त्यसो त स्थायित्व सबै क्षेत्रका लागि आवश्यक छ । यो नै पुँजीबजार, लगानीकर्ता र समग्र अर्थतन्त्रको हितमा हुने भएकाले यसप्रति सबै गम्भीर हुन आवश्यक देखिन्छ ।