८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


वित्तीय कारोबार र हिंसात्मक घटनाकाे बारेमा प्रहरी अलमलमा


169
Shares

काठमाडाैं । वित्तीय कारोबार र पारिवारिक कलहका कारण हुने हिंसात्मक घटनाहरू प्रहरीका लागि टाउको दुखाईको विषय बनेका छन् ।

त्यसमाथि दुरुत्साहनका सयौं जटिल समस्या गाँठोले प्रहरी अनुसन्धानलाई थप गिजोलेको छ । वैदेशिक रोजगारी, परिवारभित्रका अनमेलका मुद्दा अदालतसम्म बग्रेल्ती प्रवेश पाएका छन् । निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसक्दा प्रहरी गम्भीर आरोप खेप्न बाध्य छ ।

साथै प्रहरीमाथि कपनको सरस्वतीनगरको व्यस्त बजारमा पसलमा बसिरहेकी नीरा पाण्डे आचार्यको निर्मम हत्याका दोषी पक्रन नसकेको आक्षेप थपिन थालेको छ । यद्यपि जनदवाव बढेपछि प्रहरीले एआईजीको नेतृत्वमा उच्चस्तरीय छानविन समिति बनाएको छ ।

जनदवाव बढ्दै गएपछि प्रहरी प्रधान कार्यालयले हत्याकाे छानविन तथा अनुसन्धान गर्न एआईजीको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरेकाे छ । कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीका प्रमुख एआइजी किरण बज्राचार्यको नेतृत्वमा उच्चस्तरीय समिति गठन गरेकाे हाे।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख र जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख समेत सहभागी हुने गरी उच्चस्तरको छानविन समिति गठन गरिएको हो । एक हप्ता बितिसक्दा पनि उक्त हत्या प्रकरणका बारेमा प्रहरीले यकिन कारण पत्ता लगाउन नसकेपछि उच्चस्तरबाट छानविन गर्न समिति बनाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

एकातिर दोषी पत्ता लगाउन नागरिक स्तरबाट दैनिक जसो दवाव कायमै छ । प्रहरीको मुख्यालयदेखि तल्लो इकाईसम्म अनुसन्धानमा सक्रिय छ । प्राविधिक अनुसन्धानका काम पनि नियमित भइरहेका छन् । तर हत्या कसले गर्यो भन्ने चुरो कुराे पत्ता लाग्न सकेकाे छैन । संसदमा पनि यो विषयले प्रवेश पाएको छ । संचार माध्यमले पनि सशक्त शैलीमा यो विषय उठाने गरेका छन् ।

घटना लगत्तै प्रहरीले अनुसन्धान थालेको हो । कुकुर लगेर ट्रयाक गर्ने प्रयास पनि भयो । तर भीड-भाड धेरै हुने स्थानमा कुकुरको अनुसन्धान प्रभावकारी भएन । अझ मृतक महिलाले बैंकबाट लाखौं रुपैयाँ निकालेको प्रमाणले घटनासँग वित्तीय कारोबार जोडिएको संकेत देखिएकाे छ ।

एक हप्ता बढी लामो अनुसन्धानमा प्रहरी परिवारदेखि पसलका ग्राहकसम्म केन्द्रित भएको छ । अनुसन्धानमा संलग्न अधिकारीहरु ठोस प्रमाण नपाएका कारण बोल्न नमिल्ने बताउँछन् । मृतकको शरीरमा करिब १८ ठाउँमा चक्कु रोपिएको । आश्चर्य त के छ भने घटनास्थलमा चक्कु फेला परेको छैन ।

हत्यामा प्रयोग भएकोे चक्कु हत्याराले नै लगेको प्रहरीको शंका छ । अफलाईनको पठाओमा पुगेका दुई जनाले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाउँछ । सीसी टिभीमा देखिए अनुसार मोटरसाइकलमा गएका दुई जनामाथि प्रहरीको शंका छ। उनीहरु पसल नजिकै ओर्लिएर पसलतिर गएको देखिन्छ।

पसलमा एक झोला भाडाकुँडा प्याक गरेको अवस्थामा फेला परेको छ । त्यो कसैले अर्डर गरेर सामान ल्याउने निहुँ पारेर हत्या गर्यो कि भन्ने आशंका पनि प्रहरीको छ । तर त्यो सामान कसले माग गरेको थियो भन्ने रहस्य पनि खुलेको छैन । प्रहरीको अर्को शंका आर्थिक गतिविधिमाथि छ ।

हत्या भएकै दिन नीरा पाण्डे आचार्यले आफ्नो खाताबाट १९ लाख रुपैयाँ निकालेको पाइएको छ । मुद्दती खातामा राखेको उक्त रकम निकाले पनि अर्को खातामा रकम जम्मा गरेको भेटिएको प्रहरी बताउँछ । आर्थिक कारणबाट घटना भएको हुन सक्ने तर्फ पनि अनुसन्धान भइरहेको अनुसन्धान अधिकारी बताउँछन् ।

निरा र उनका पति दुई मिनेटको दूरीमा छुट्टाछुट्टै पसल चलाउँथे । घटनाकाे बारेमा पति समेत बेखबर थिए । अनुसन्धान लम्बिदै जाँदा स्थानीयमा एकैसाथ भए र आक्रोशले प्रवेश पाएको छ । आश्चर्य त के छ भने अनुसन्धानमा सम्पूर्ण स्रोत साधन उपयोग गर्दा पनि प्रहरीलाई अपेक्षित सफलता हात लागेको छैन ।