
डडेल्धुरा । डडेल्धुरा आफूलाई जंगलको राजा ठान्ने, जंगलमै बस्ने र जंगलमै रमाउने डडेल्धुराका राउटे जाति विस्तारै समाजमा घुलमिल हुन थालेका छन् ।
डडेल्धुराको परशुराम नगरपालिका-४ को रज्यौडा र १२ को जोगबुढा र आमपानीमा दशकौंदेखि बस्दै आएका लोपोन्मुख जाति राउटे अहिले व्यवसायिक रूपमा तरकारीको खेती गर्दै आएका हुन् । तरकारीको खेती गर्दै आएपछि उनीहरूकाे पारिवारिक जीवनशैलीमा पनि सुधार भएकाे छ । साथै मनग्गे आम्दानी गर्न पनि उनीहरू सफल भएका छन् ।
जंगल छोडेर गाउँमा बसोबास गर्न थालेपछि सीमान्तकृत समुदायमा परिभाषित राउटेहरू व्यवसायिक खेतीतर्फ आकर्षित भएका छन् । जंगलमै बसेर गिठ्ठा र भ्याकुर खाएर जीवन धान्दै आएका राउटे जातिहरू व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित भएपछि बसोबास गर्दै आएको ठाउँ परिवर्तन हुँदै आएको छ ।
साम्प्रदायिक समाजबाट मिश्रित समाजसँग अभ्यस्त हुन थालेसँगै पहिले बोल्नै डराउने राउटे महिला तथा पुरुषहरु समाजको सिको गर्दै अहिले आलु, भन्टा, टमाटर, सिमला, काँक्रा र मुला लगायतका तरकारी बाली लगाएर वार्षिक लाखौं रूपैयाँकाे आम्दानी गरिरहेका छन । भारतका विभिन्न ठाउँमा रोजगारका लागि धाउने यो समुदायका युवाहरु विदेशीनबाट रोकिएका छन् ।
उत्पादन गरेको तरकारी बजारमा बिक्री गरेर सोचे जतिको आम्दानी पाउँदा उत्साहित भएको अगुवा कृषक गगन राउटेको भनाइ छ । परम्परागत जीवन पद्धति अनुसार जंगलमा छँदा गिठ्ठा, भ्याकुर र जंगली जनावरको खोजीमै दिन बिताउने राउटे परिवारका युवाहरुलाई कृषि ज्ञान केन्द्र डडेल्धुरा मार्फत ४ लाख र।रूपैयाँ अनुदान पाएपछि उनीहरु प्रविधियुक्त कृषक भएका छन् ।
साथै तरकारी खेतीबाट मनग्गे आम्दानी हुँदा उनीहरू खुशी समेत भएका छन्।
प्रतिक्रिया दिनुहोस्