
काठमाडौं । सूचना प्रविधिको प्रभावसँगै अपराधका शैलीमा परिवर्तन आएको छ । लागूऔषध, हत्या, मानव बेचविखन, अनलाइन ठगी, हत्या हिंसा, हत्या दुरुत्साहन, तस्कर, स्रोत बिनाको रकमको ओसारपसार, अनलाइन जुवा, क्रिप्टो करेन्सीको धन्दा, चोरी, डकैत, बलात्कार, एसिड आक्रमणजस्ता घटना दिनकै सुनिँदै आएका छन् । त्यसमाथि पारिवारिक बेमेलको परिणाम अवोध सन्तानसहित आत्महत्या गर्ने प्रचलन बढ्दौ छ । यसको नियन्त्रण नेपाल प्रहरीलाई सहज पक्कै छैन । त्यसमाथि विभिन्न अपराधका विषयमा स्पष्ट कानून नबन्दा मुद्दा कमजोर हुने र यसमा संग्लन व्यक्ति सहजै छुट्ने देखिएको छ ।
चार वर्षअघि भक्तपुर चाँगुनारायण नगरपालिका–७ बाँसबारीमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–५ की ६१ वर्षीया सावित्री भट्टराईको हत्या भयो । हत्यामा आफ्नै छोरीको संलग्नता देखिएको थियो । प्रहरीले भट्टराईको हत्यामा छोरी ईश्वरी भट्टराई र मोहम्मद नौसादको प्रेम सम्बन्ध मुख्य कारण बताएको थियो । बिहे भएपछि समेत उनीहरुबीच सम्बन्ध रहेको र त्यही अवैध सम्बन्धको कारण आफ्नो आमाको हत्या गर्न लगाएको अनुसन्धानमा खुलेको थियो ।
कपनमा अनिश जिमि राईले आफूसहित आफ्नी प्रेमिकाको हत्या गरे । पब्जी खेलमा दुवै जनाको लत बसेको थियो । राईले हत्यामा प्रयोग गरेको चक्कु पब्जी खेलमा प्रयोग हुने एडभान्स खालको रहेको थियो । यसबाट पुष्टि हुन्छ– अहिले अनलाइन वा इन्टरनेटमा खेलिने विभिन्न खाले गेमले पनि समाजमा अपराधका श्रृखंला बढ्दै गएका छन् । पछिल्लो समय डिजिटल प्रविधि प्रयोग गरी गर्ने अपराध बढेको प्रहरी परिसर काठमाडौका प्रवक्ता प्रहरी उपरीक्षक सिताराम रिजाल बताउनुहुन्छ ।
चिनियाँ नागरिकले नक्कली एटीएम कार्डमार्फत चलाएको वित्तीय अपराधको जालोले समाजलाई तरंगित बनायो । नक्कली कार्डबाट पैसा निकाल्ने चिनियाँ गिरोहलाई प्रहरीले पक्राउ ग¥यो । उनीहरूले यो चोरीका लागि १३२ वटा नक्कली कार्ड प्रयोग गरेका थिए । १६ वटा व्यक्तिगत एटीएम कार्ड प्रयोग भएको थियो । अनुसन्धानमा दरबारमार्ग, कमल पोखरी र ठमेल क्षेत्रका तीनवटा एटीएम बुथबाट चिनियाँ ह्याकरले रकम निकालेका थिए । उनीहरूको साथबाट एक करोड २६ लाख २९ हजार ४५ नेपाली रूपैयाँ, ९ हजार १ सय ८ अमेरिकी डलर बरामद भएको थियो ।
अझ रौतहट र कैलालीमा त मुलद्वारबाट रक्सीको बोतल घुसाएपछि चिकित्सकको अथक मेहनतबाट ज्यान बचेका घटना सेलाएको छैन । साइबर सम्बन्धी ऐन बनेको छ तर, अहिले जसरी साइबर अपराधमा भइरहेको नयाँ नयाँ प्रयोग निस्तेज गर्न अपर्याप्त रहेको छ । त्यसैगरी लागू औषधकाऐन बदलिँदो आपराधिक परिस्थितिमा व्यवहारिक बन्न सकेका छैनन् । ऐन नियम बनाउँदा प्रहरीलाई संलग्न नगराइँदा मुद्दा कमजोर बन्ने गरेको सुरक्षा अधिकारीहरुको विश्लेषण छ ।
कुनै बेला अपराध नमानिएका काम अहिले अपराधका रुपमा रहेका छन् । अहिले गाँजालाई औषधिको प्रयोगका लागि पुनः खुलाउने बहस सदनदेखि सडकसम्म छेडिएको तर, अद्यावधि यसको कारोबार वा ओसारपसार अपराध मानिँदै आएको छ । प्रहरीका अनुसार नेपालमा हुने ९० प्रतिशत अपराधका घटनामा चिनजानका मानिसको संलग्नता रहने गरेको पाइएको छ । अझ वित्तीय अपराधका घटना देशव्यापी बन्दै गएको छ । यस स्थितिमा अपराधको जरो किलोसम्म पुग्ने गरी आवश्यक ऐन कानून, प्रहरीका लागि आवश्यक भौतिक पूर्वाधारको व्यवस्था गर्नु जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्