
नवलपुर । नवलपुरको देवचुली नगरपालिका–२ को विपन्न बस्तीमा खानेपानीको अभाव हुँदा स्थानीय दूषित खानेपानी पिउन बाध्य भएका छन् ।
स्थानीय तहकाे चुनावमा खानेपानीको समस्या समाधान गर्ने भनेर भोट मागेका जनप्रतिनिधिहरुले बेवास्ता गरेको उनीहरुले गुनासो गरेका हुन् । बस्तीमा रहेको ४ वटा कुवालाई सिंगो गाउँले प्रयोग गरिरहेको छ । शुद्ध खानेपानी नभएकै कारण विभिन्न स्वास्थ्य समस्या आउने गरेको स्थानीयले बताएका छन् ।
नवलपुरको अतिविपन्न बोटे, माझी र मुसहर समुदायमा खानेपानीको चरम अभाव भएको छ । देवचुली नगरपालिका– २ मा रहेको विपन्न बस्तीमा खानेपानी नपुग्दा स्थानीय दूषित खानेपानी पिउन बाध्य भएका हुन् । संघ, प्रदेश र केन्द्रको भोट बैंकका रुपमा उम्मेदवारहरुले प्रयोग गर्ने यस क्षेत्रमा हालसम्म निर्वाचित कुनै जनप्रतिनिधिहरुले पनि खानेपानीमा सहजता प्रदान गर्न नसकेको स्थानीयले गुनासो गरेका छन् ।
स्थानीय चुनावमा जनप्रतिनिधिहरुले मुलभूत समस्याहरुलाई समाधान गर्ने भनेर आश्वासन दिएको भएपनि अहिलेसम्म खानेपानीको धारा जडान गरिदिएका छैनन् । २०५२ सालमा बाढी तथा अन्य प्रकोपका कारण जमिन तथा घरबार नभएकाहरुलाई यस स्थानमा बस्ती स्थानान्तरण गरिएपछि हाल बस्तीमा १ सय २७ घरधुरी रहेका छन् ।
बस्तीमा रहेको ४ वटा कुवालाई सिंगो गाउँले प्रयोग गरिरहेको छ । शुद्ध खानेपानी नभएकै कारण विभिन्न स्वास्थ्य समस्या आउने गरेको स्थानीयले बताएका छन् । विपन्न मुसहर बस्तीमा खानेपानीका लागि आफूहरुले पहल गरेको भएपनि हालसम्म खानेपानी ल्याउन नसकेको देवचुली नगरपालिका–२ का वडासदस्य हरिभक्त श्रेष्ठले बताउनुभयो । वडाले पटक-पटक सिफारिस गरेपनि खानेपानी संस्थाले भने खानेपानी उपलब्ध नगराएको श्रेष्ठको भनाइ छ ।
खानेपानी नहुँदा यहाँका वासीन्दालाई धेरै टाढा गएर पानी ल्याउनु परेकाले जसरी पनि खानेपानी ल्याउने वडासदस्य श्रेष्ठले बताउनुभयो । शिक्षा, स्वास्थ्य र खानेपानीको पहुँच नागरिकका सामान्य हक हुन् । जसलाई राज्यले अविलम्ब समाधान गर्नुपर्छ । मानिसको स्वास्थ्यसँग जोडिएको खानेपानीको समस्या हल गर्न स्थानीय तहले यसलाई प्राथमिकतामा राखेर तुरून्त काम अघि बढाउन जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्