
तेह्रथुम । पूर्वी नेपालको तिनजुरे मिल्के जलजले क्षेत्रमा यति बेला गुराँस फुलेर राताम्य देखिनु पर्ने समय हो ।
तर गुराँसको राजधानीको रुपमा लिइने यसक्षेत्रमा वैशाखको अन्तिम साता बितिसक्दा पनि फाट्टफुट्ट मात्रै गुराँस फुलेको हाे । तेह्रथुममा यस वर्ष गुराँस कम फुलेकाे छ ।
तेह्रथुम, संखुवासभा र ताप्लेजुङ जिल्लामा फैलिएको यो क्षेत्र खासगरी हिउँदामा हिउँ पर्दा र गुराँस फुल्ने सिजनमा पर्यटकको मुख्य आर्कषण बन्दै आएको छ । गत वर्षको तुलनामा यस वर्ष भने हिउँ पनि कमै पर्याे र गुराँस पनि कमै फुलेको छ । प्राकृतिक सुन्दरतासँगै टलक्कै टल्किने हिमालको दृष्यले यहाँ आउने पर्यटकहरु मोहिन हुने गर्दछन् ।
गुराँस फुल्ने सिजन सुरुसँगै यस क्षेत्रमा पर्यटकको चाप बढ्ने गरेको छ । जलवायु परिर्वतनसँगै यस वर्ष भने हिउँ परेन भने गुराँस पनि प्रशस्त फुलेको छैन । गुराँसले रंगिएको हेर्न तिनजुरे पुगेकी इहटरीकी लक्ष्मी कार्की सोचे जस्तो नपाए पनि प्राकृतिक सुन्दरतामा भने रमाएको बताउनुहुन्छ ।
चोलुङ पार्क, वसन्तपुर बजार, आरआर गार्डेन, पाथिभरा मन्दिर, तिन्जुरे डाँडा चौकी मंगलबारे र गुफा पोखरी लगायतका स्थानहरुमा पर्यटकहरुको मुख्य आकर्षंण बन्दै आएका छन । पर्यटकीय स्थलको रुपमा रहेका परिचित यस क्षेत्रको भौतिक पूर्वाधार विकाससँगै सडकलाई व्यवस्थित गर्न आवस्यक रहेको सुनसरीकी मिना कठायतको भनाइ छ ।
यस बेला पर्यटकहरुको चापले यहाँका होटल भरिभराउ हुनुपर्ने हो । तर अहँ हिउँदामा हिउँ पनि नपर्नु र गुराँस पनी नफुल्नले पर्यटकहरुको चाप खासै बढ्न सकेको छैन । गत वर्षको तुलनामा गुराँस कमै फुले पनि पर्यटकहरुको भने आउने गरेको स्थानीय आइतराज केरुङले बताउनुभयो।
३२ प्रजाति मध्ये गुराँसको राजधानीको रुपमा चिनिएको यस क्षेत्रमा २८ प्रजातीका गुराँस पाइने गरेको छ । यहाँ पूर्वी नेपालका साथै दार्जिलिङ र सिक्किम लगायत विभिन्न देशहरुबाट पर्यटक आउने गरेका छन् । गुराँस फुलेर राताम्मे देखिने यहाँका जंगल अहिले त्यति राताम्मे हुन पाएनन् ।
तर पनि पर्यटकीय आकर्षणको क्षेत्र भएकाले प्रकृतिसँग रमाउनकैलागि भए पनि पर्यटकहरु चाहीं पुग्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्