
काठमाडौं । विश्वमा बौद्ध धर्मको प्रभाव व्यापक बन्दै गइरहेका बेला आध्यामिक रुपमा मात्र होइन, धामिर्क पर्यटकहरुको लागि नेपालका बौद्ध सम्पदाहरुको प्रवद्र्धन जरुरी देखिएको छ । एकातिर विश्व शान्तिका लागि प्रयास भइरहँदा बुद्धजन्मस्थल लुम्बिनी र बुद्ध धर्मावलम्बीहरुको प्रख्यात तीर्थ स्वयम्भूलाई अन्तर्राष्ट्रि शान्तिस्थलका रुपमा विकास गर्नुपर्ने आवाज उठ्न थालेको छ ।
२६४७ वर्ष पहिले तथागत गौतम बुद्धको जन्म लुम्बिनीमा भएको थियो । ३५ वर्षको उमेरमा ज्ञान प्राप्ति सँगै बुद्धले जीवन पर्यन्त चार आर्यसत्य र आर्य अष्टांगिक मार्गको उपदेश विश्वलाई दिनुभएको थियो । बुद्धको महापरिनिवार्णसँगै उहाँको उपदेश, सिद्धान्त र दर्शन बौद्ध धर्मको रुपमा विश्वमा विकसित हुँदै गएको छ ।
वर्तमान अवस्थामा मुख्य रुपमा थेरवादी, महायानी र वज्रयानीको प्रभाव विश्वमा रहेको छ । प्राचिनकालमा नेपालमा यी तिनै यान र अन्य परम्पराको प्रभाव रहेको थियो । प्राचीनकालदेखि विभिन्न बौद्ध भिक्षु, महासिद्धि र बौद्ध तिर्थयात्रीहरु नेपाललाई कर्म र सिद्धभूमि बनाएको ईतिहास छ । त्यसैले पनि यहाँ विश्व सम्पदामा गनिने करिब २३ सय वर्ष पुरानो चारुमति विहारदेखि लिएर खास्ती चैत्य, स्वयम्भू महाचैत्य र लुम्बिनी मायादेवी मन्दिर लगायतका थुप्रै सम्पदा रहेका छन् । तर, अन्तर्राष्ट्रिय रुपमा उचित प्रचारप्रसार नहुँदा आशा गरेजस्तो परिणाम आउन सकेको छैन ।
विभिन्न देशसँग बौद्ध सम्बन्धको बारेमा दर्जनौ पुस्तक लेखिसकेका परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ तथागत गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई सबैको साझा ‘अन्तराष्ट्रिय बौद्ध राजधानी’को रुपमा स्थापित गर्नुपर्ने आवश्यकता देख्नुहुन्छ । बौद्ध दर्शनका तीनै यानको अभ्यास नेपालमा हुनु पनि सकारात्मक रहेको उहाँले बताउनुभयो ।
हाल विश्व तनावग्रस्त भएको र शीतयुद्धको निकटता देखिएकै कारण पनि लुम्बिनी र स्वयम्भूलाई शान्ति वार्तास्थलको रुपमा विकास गर्ने सके विश्वमा नेपालको छवी उच्च रहने हुनाले यस विषयमा गम्भिर हुन श्रेष्ठको सरकारलाई सुझाव रहेको छ ।
प्राचीनकालदेखि विश्व सम्पदा चारुमति विहार थेरवाद, खास्ति महायान तथा तिब्बति र स्वभम्भूमहाचैत्य बज्रयानको केन्द्रको रुपमा विकसित भइरहेको नेपालको लागि सकारात्मक पक्ष हो । यसलाई अब धार्मिक पर्यटनको अन्तर्राष्ट्रिय केन्द्रको रुपमा विकसित गर्ने राजनीतिक इच्छाशक्ति नै अहिलेको पहिलो र अन्तिम आवश्यकता हो ।
प्रतिक्रिया दिनुहोस्