६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


विश्व सम्पदा सूचीमा सूचीकृत कैलाशडाँडा बन्यो फुटबल मैदान, शिवलिंग दर्शक बस्ने प्याराफिट


3.406k
Shares

काठमाडौं । पाशुपत क्षेत्रको कैलाश पवित्र डाँडा हो । यही चउरमा लिच्छवीकालिन शिवलिगं यत्र, तत्र, सर्वत्र छरिएर रहेका छन् । पशुपति क्षेत्र विकास कोषको लापर्वाहीले विश्व सम्पदा सूचीमा सूचीकृत कैलाशडाँडा खेलकुद मैदानमा परिणत भएको छ ।

पाशुपत क्षेत्रको कैलाश डाँडा सनातन बैदिक र महायान तथा बज्रयान बौद्धहरुको आस्थाको केन्द्र हो । त्यसैले यो डाँडामा बैदिक र बज्रयान तन्त्रको परम्पराअनुसार धार्मिक र साँस्कृतिक रुपमा पूजा आराधना हुने गरेको छ । यहा धामिर्क आस्थासंग जोडिएका लिच्छिविकालीन शिवलिंग सर्वत्र छरिएर रहेका छन् । कति शिवलिंग हराएका छन, कति योनी भाग जलहरी हराएको अवस्थामा देखिन्छन् । धार्मिक मात्र होइन, पुरातात्विक र ऐतिहासिक महत्वका यी शिवलिगंको उचित संरक्षण नभएर बेवारिसे बनेको जो कसैले अनुभव गर्न सक्छ ।

यस्तो पवित्र डाँडा अहिले आएर खेलकुद मैदान बनेको छ । प्रत्येक दिन फुटवल खेल्न युवाको भीड जम्मा हुन्छ । पवित्र शिवलिंग दर्शक बस्ने प्याराफिट बनाइने गरेको छ । शिवलिंगमाथि खेलाडीले लुगा, जुत्ता र सरसामान राख्ने गरेका छन् । यस्ता कृयाकलापले धार्मिक आस्था माथि प्रहार हुँदा समेत पशुपति क्षेत्र विकास कोष मुकदर्शक बनेको छ ।

धार्मिक आस्थामाथिको यसखाले प्रहार अनुचित भएको भन्दै कोषले मौखिक चेतावनी दिँदादिँदै पनि अटेरी भएको बताएको छ । कैलाश डाँडा खेलकुद मैदान नभएको र बल प्रयोग गरेर भएपनि यसखाले गतिविधि बन्द गराइने पशुपति विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा बताउनुहुन्छ ।

धार्मिक कुटनीतिको लागि मात्र पशुपति शिव लिंगमा अरबौैंको सुनको जलहरी राख्न सक्ने सरकार र कोष लिच्छवी कालिन शिवलिगं भएको कैलाशडाँडा संरक्षण गर्न नसक्नु निकम्मापन हो । पवित्र कैलाशडाँडालाई फुटबल मैदान र शिवलिंग दर्शक बस्ने प्याराफिट होइन शान्त र ध्यान गर्न लायकको आध्यात्मिक स्थलको रुपमा संरक्षण गर्न आवश्यक छ ।