
काठमाडौं । मुलुकको संघीय राजधानी काठमाडौंमा बैंकिङ कसुर र आर्थिक अपराधमा ६ हजार बढी मुद्दा दर्ता भएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चालु आर्थिक वर्षमा आर्थिक अपराध र बैंकिङ कसुरमा सबैभन्दा बढी मुद्दा दर्ता भएका हुन् ।
प्रहरीको पहिलो काम शान्ति सुरक्षा कायम गर्ने भएपनि वित्तीय अपराधका घटनाले प्रहरीको बेफुर्सदी थप बढेको छ ।
पछिल्लो समय बैंकिङ कसुर र आर्थिक अपराधअन्तर्गत चेक बाउन्स, डलर साटिदिन्छु, चिठ्ठा पारिदिन्छु वा आकर्षक रोजगारीमा विदेश पठाइदिन्छु भनी आर्थिक ठगी गर्ने प्रवृत्ति बढेको प्रहरीको भनाइ छ ।
चालु आर्थिक वर्षमा काठमाडौंमा दर्ता भएका १० हजार मुद्दामध्ये आधाभन्दा बढी मुद्दा बैंकिङ कसुर र आर्थिक अपराधसँग सम्बन्धित छन् ।
दैनिक बैंकिङ कसुर र आर्थिक अपराधसम्बन्धी ३० देखि ३५ वटा निवेदन परिसरमा दर्ता हुने गरेको छ । पछिल्लो समय काठमाडौंमा बैंकिङ कसुर र संगठित तथा आर्थिक अपराधका घटनामा वृद्धि भएको प्रहरीले बताएको छ ।
बैंकिङ कसुर र आर्थिक अपराधबाहेक यस वर्ष अभद्र व्यवहार सम्बन्धी २ हजार ८, विविध अपराध ५ सय ७५, चोरीसम्बन्धी कसुर ४ सय ४५, लागुऔषध २ सय ६७, महिला तथा बालबालिकासम्बन्धी कसुर २ सय ५७, आत्महत्यासम्बन्धी २ सय ३१, सवारी ज्यान तथा अंगभंगसम्बन्धी कसुर १ सय ४१ र कर्तव्य ज्यानमा २० मुद्दा दर्ता भएका छन् ।
यसरी बैकिङ्ग कसुरको मुद्दा बढ्नाले प्रहरीलाई दबाब बढेको हो । तर, त्यस्तो खालको कसुर हेर्नको लागि प्रहरी नायब उपरीक्षकको कमाण्डमा छुट्टै कार्यालय नै स्थापना गरि सेवाग्राहीहरुको काम गरिरहेको प्रबक्ता रिजाल बताउनु हुन्छ ।
परिसरमा गत आर्थिक वर्ष २०७८/०७९ मा भन्दा चालू आर्थिक बर्ष २०७९/८० मा बैंकिङ कसुर तथा आर्थिक अपराधसम्बन्धी कसुरमा सबै भन्दा बढी मुद्दा दर्ता भएको छ । राजीतिमा अपराध र अपराधको राजनीतिकरण मात्र हैन, सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै अपराधका घटनामा समेत व्यापक परिर्वतन आएको छ ।
यस्तो चुनौतीपूर्ण अवस्थामा प्रहरीलाई प्रविधिगत रुपमा चुस्त दुरुस्त राख्न जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्