१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025


खप्तड सम्मेलनपछि जागेको आशा


7.059k
Shares

डडेल्धुरा । सुदूरपश्चिमको प्राकृतिक, आध्यात्मिक र पर्यटकीय महत्व बोकेको पवित्र तीर्थस्थल खप्तडमा यो बर्ष पहिलो खप्तड अन्तर्राष्ट्रिय सम्मेलन भयो ।

यही जेठ २३ देखि २५ गतेसम्म भएको सो सम्मेलनले आन्तरिक र बाह्य पर्यटक भित्र्याउने मात्र नभई त्यस भेगको विकासमा समेत कायापलट हुने भन्दै स्थानीय ढुक्क भएका छन् । यसका साथै सम्मेलनले खप्तड क्षेत्रलाई बिश्वभर चिनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नु भएको मेलामा विश्व प्रसिद्ध योग गुरु रामदेव, बालकृष्ण आचार्य लगायतको सहभागिता रहेको थियो ।

पर्यटन, सम्पदा, संस्कृति र योग ध्यान, खप्तड क्षेत्र सुदूरपश्चिमको पहिचान भन्ने नाराका साथ धुमधामकासाथ खप्तड मेला सम्पन्न भयो । प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनले खप्तड पहुँचका लागि सडक सुबिधा तथा आवश्यक पूर्बाधार निर्माण सहित पर्यटकको आगमन हुने संभावना बढे पछि स्थानीयबासी पनि खुशी भएका छन् । सुदुरपश्चिमकै गहनाको रुपमा रहेको खप्तडमा यो किसीमको सम्मेलन सम्पन्न भएपछि स्थानीयबासीन्दा खुशी भएका हुन् । उनीहरु खप्तड मात्रै नभएर सुदूरपश्चिमको बिकासमा अब ढोका खुलेको बताउँछन् ।

सम्मेलनमा खप्तडको महिमा र प्राकृतिक दृष्याबलोकनको प्रसंशा गर्दै विश्व प्रसिद्ध योग गुरु रामदेवले संस्कृतिमूलक समृद्धिको आधार स्तम्भ निर्माण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रिय नीति तयार पार्न सुझाव दिदै खप्तडको भाग्य उदय शुरु भएको बताउनु भयो । सम्मेलनले सम्पूर्ण राष्ट्रिय अन्तर्राष्ट्रि तीर्थालुहरुकोलागि ढोका खोलेको रामदेवको भनाई छ ।

सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा गरिएको सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहालले पनि सुदूरपश्चिमको समग्र विकासका लागि खप्तडको विकास अपरिहार्य भन्दै नेपाल राष्ट्रकै आध्यात्मिक तथा पर्यटकिय गन्तव्य बनाउन बिशेष परियोजना ल्याउने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो ।

स्वीजरल्याण्ड भन्दा राम्रो खप्तड भएको जिकिर गर्दै आयुर्बेद शिरोमणि वालकृष्ण आचार्यले खप्तडलाई आकर्षणको बिन्दु बनाउन आध्यात्मिक पर्यटन केन्द्र स्थापनाका लागि सरकार तयार भए आफूहरु प्रचारप्रसारमा पूर्ण सहयोग गर्ने बताउनु भयो ।
पाँच धार्मिक स्थल, २२ दह, ५२ पाटन, बिभिन्न पशुपंक्षीको बासस्थान तथा खप्तड बाबाको नामले सुप्रसिद्ध तपस्वी श्री १००८ स्वामी परमहंश परिब्राजकाचार्य योगीराज महात्मा सच्चिदानन्द सरस्वतीजी महाराजको आश्रम रहेको खप्तड समुद्रि सतहबाट ३३ मिटर उँचाईमा र बाजुरा, बझाङ्ग, डोटी र अछाम जिल्लाको केन्द्रमा रहेको रहेको छ ।

पौराणिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको खप्तड राष्ट्रिय निकुञ्ज तथा पर्यटकीय क्षेत्रमा पुग्न हाल सडक पहुँच टाढा छ भने बस्ने तथा खाने व्यवस्थाका लागि केहि पूर्वाधार निर्माणाधीन अवस्थामा रहेका छन् । सुदूरपश्चिमका पहाडी जिल्ला बाजुरा, बझाङ, डोटी र अछामको संगम स्थलमा रहेको खप्तड भूस्वर्गझै छ । सरकारले यो क्षेत्रको महत्व बुझेर पर्यटन प्रवद्र्धन गर्न सकेमा विश्वका पर्यटक ओइरिने मात्रै नभई सुदूरपश्चिम क्षेत्रको मात्रै होईन नेपालको विकासमा पनि ठूलो योगदान पुग्नेछ ।